
पर्सा । शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित हुनुपर्ने मधेश विश्वविद्यालय पछिल्लो समय एकपछि अर्को विवादमा मुछिँदै गएको छ। हालै सार्वजनिक दुई गम्भीर प्रकरणले विश्वविद्यालयको छवि मात्रै होइन, सम्पूर्ण शैक्षिक वातावरणमाथि नै प्रश्न उठाएको छ।
विश्वविद्यालयमा कार्यरत कर्मचारी राजु गद्दीलाई एक छात्रामाथि यौन दुर्व्यवहार तथा अनैतिक दबाब सिर्जना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पीडित छात्राले दिएको उजुरीअनुसार गद्दीले अनैतिक सम्बन्धका लागि दबाब दिँदै अस्वीकार गरेमा परीक्षामा अंक घटाइदिने र स्वीकारेमा सुविधा उपलब्ध गराइदिने प्रलोभन दिएका थिए । फोन तथा सामाजिक सञ्जालमार्फत निरन्तर अनुपयुक्त सन्देश पठाएर मानसिक दबाब सिर्जना गरिएको पनि उजुरीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा चैत १४ गते उजुरी परेपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार घटनामाथि थप अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ। यस घटनामा अन्य छात्राहरू पनि पीडित हुन सक्ने आशंका व्यक्त गरिएको छ साथै गद्दी मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीका भतिजो रहेको तथ्य सार्वजनिक भएसँगै प्रकरणले थप राजनीतिक आयामसमेत लिएको छ।
पछिल्लाे समयमा विश्वविद्यालयका रजिष्ट्रार विजय यादवसम्बन्धी अर्को विवादले पनि संस्थालाई थप बदनाम बनाएको थियो । यादव र एक युवतीबीचको अन्तरंग सम्बन्धका फोटो तथा भिडियोहरू सार्वजनिक भएपछि विश्वविद्यालयभित्र हलचल मच्चिएको थियो । विवाहित रहेका यादवको उक्त सम्बन्ध सार्वजनिक हुनु नैतिकताको दृष्टिले गम्भीर विषय बनेको छ ।
सार्वजनिक भएका सामग्रीमा यादव र ती युवती विभिन्न स्थानमा सँगै घुमफिर तथा घनिष्ठ अवस्थामा देखिएको दाबी गरिएको थियो । साथै, ती युवतीले यादवकी श्रीमतीसँग सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश आदानप्रदान गरेको प्रमाणसमेत बाहिरिएको बताइएको थियो । यस घटनाले विश्वविद्यालय प्रशासनको नैतिक जिम्मेवारी र अनुशासनमाथि प्रश्न खडा गरेको छ ।
त्यसैगरी, केही महिनाअघि विश्वविद्यालयकै स्कोर्पियो गाडीका चालकले रातिको समयमा मदिरा सेवन गरी गाडी चलाउँदा परिसरभित्रै बाउँड्री वालमा ठोकिएको घटना पनि सार्वजनिक भएको थियो। यस्तो गम्भीर लापरवाहीले विश्वविद्यालयभित्रको अनुशासनहीनता र निगरानीको अभाव उजागर गरेको छ।
उपकुलपति प्रा. डा. दीपक शाक्यको सिफारिसमा यादवलाई रजिष्ट्रार नियुक्त गरिएको चर्चा बीच, विश्वविद्यालयभित्र नियुक्ति प्रक्रिया, पारदर्शिता र सुशासनमाथि समेत गम्भीर आरोपहरू लागिरहेका छन्। स्रोतहरूका अनुसार उच्च पदस्थ अधिकारीहरूको मिलेमतोमा नियुक्ति, अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको छ भने करारमा रहेका कर्मचारीहरू जागिर गुम्ने डरले मौन बस्न बाध्य भएका छन्।
यी घटनाहरूले मधेश विश्वविद्यालय केवल शैक्षिक संस्था नभई विवाद, अनियमितता र नैतिक विचलनको केन्द्र बन्दै गएको संकेत गरेको छ। विद्यार्थीहरूको सुरक्षा, अधिकार र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा यस्ता घटनाहरू दोहोरिनु गम्भीर चिन्ताको विषय बनेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले विश्वविद्यालयभित्र कडा निगरानी, पारदर्शी प्रशासन र दोषीमाथि कडा कारबाहीको माग गर्न थालेका छन्। अन्यथा, यस्ता घटनाहरूले शिक्षा क्षेत्रप्रतिको विश्वास थप कमजोर पार्ने निश्चित देखिन्छ। सवार ज्योती दैनिक


