वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–११ स्थित एपेक्स म्यानेजमेन्ट कलेज र एमभी दुगर ग्रुपबीच सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। कलेजको सभाहलमा आयोजित एक समारोहबीच दुवै पक्षले समझदारीपत्रमा हस्ताक्षर गर्दै कागजात आदानप्रदान गरेका थिए।
कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र चौधरी र प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले हस्ताक्षर गरेका थिए भने दुगर ग्रुपका तर्फबाट डाइरेक्टर भेदप्रसाद शर्मा र सेल्स हेड नदी भटले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार दुगर ग्रुपले बजारमा बिक्री गर्ने स्कुटर तथा मोटरसाइकलमा एपेक्स कलेजका विद्यार्थीलाई विशेष सहुलियत प्रदान गरिनेछ । विद्यार्थीहरूले कलेजको परिचयपत्र (आईडी कार्ड) प्रस्तुत गरेमा इलेक्ट्रिक स्कुटर तथा भारतीय मोटरसाइकलमा १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै भेस्पा स्कुटरमा ५ प्रतिशत छुट उपलब्ध गराइने डाइरेक्टर शर्माले जानकारी दिए।
यसअघि सार्वजनिक गरिएको विवरणअनुसार इन्डोनेसियन निर्माणका ईभी स्कुटर तथा केही भारतीय मोटरसाइकलमा अधिकतम १० हजार रुपैयाँसम्म र अन्य भारतीय स्कुटरमा ५ हजार रुपैयाँसम्म छुट दिने व्यवस्था पनि रहने जनाइएको छ। साथै, कलेजका विद्यार्थीका परिवार वा आफन्तले ट्र्याक्टरका टायर (चक्का) तथा अन्य सामग्री खरिद गर्दा समेत विशेष छुट उपलब्ध गराइने उल्लेख छ।
कार्यक्रममा बोल्दै डा. दिपेन्द्र चौधरीले दुगर ग्रुपसँगको सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा विद्यार्थीहरूलाई सहुलियतमा शैक्षिक अवसर तथा व्यावसायिक क्षेत्रमा पहुँच विस्तार हुने बताए।
त्यस्तै, डाइरेक्टर शर्माले भविष्यमा कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई आवश्यकताअनुसार रोजगारी तथा इन्टर्नसिपको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा क्याम्पस चिफ प्रा. विनोद गुप्ता, दुगर ग्रुपका हेड एडमिन जावेद आलमलगायतको उपस्थिति रहेको थियो।
कलेज र व्यावसायिक क्षेत्रबीचको यस सहकार्यले विद्यार्थीहरूलाई व्यवहारिक अनुभव, रोजगारी र उद्यमशीलताका अवसरमा पहुँच बढाउने विश्वास लिइएको छ।



