पर्सा ।
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा गठन गरेको प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिमा महमद साहबुदिनलाई सदस्यमा मनोनित गरेको छ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले साहबुदिनलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन्। साहबुदिन नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत हुन्।
प्रदेशभरि निर्वाचन प्रचार–प्रसार तथा मिडिया व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको उक्त समितिको संयोजकको जिम्मेवारी नितेश कुमार गुप्तालाई दिइएको छ। समितिले निर्वाचन अवधिभर पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डालाई मिडियामार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई जिताउन केन्द्रित रहँदै कांग्रेस मधेस प्रदेश समितिले प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समिति गठन गरेको जनाएको छ।



