बारा – निलम्बनमा परेका पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख राजेन्द्र प्रसाद साह र लेखा प्रमुख मुकेश प्रजापतिले सार्वजनिक जिम्मेवारीको मर्यादा तोड्दै खुला भ्रष्टाचारको ताण्डव मच्चाइरहेका छन्। कार्यालय स्रोतका अनुसार, निलम्बनमा रहेकै अवस्थामा साह ठेकेदारहरूसँग ‘डिल’ गर्दै, गाउँगाउँमा उपभोक्ता समिति मार्फत योजना ‘बेच्ने’, र त्यसबाट उठेको कमिशनको रकम ‘हाकाहाकी’ असुली गर्ने कार्यमा सक्रिय छन्।
सबैभन्दा खतरनाक कुरा – साह अहिलेसम्म पनि कार्यालयको नाममा दर्ता गरिएको मोबाइल नम्बर ९८५५०४९५४१ प्रयोगमै राखेका छन्, कार्यालयको सरकारी गाडी समेत आफूले नै प्रयोग गर्दै आएका छन्। जबकि उनीमाथि भ्रष्टाचारको आरोप पुष्टि भई निलम्बनमा परिएको छ।
वीरगञ्जको घर ‘कमाण्ड सेन्टर’!
स्रोतका अनुसार, साहले वीरगञ्जस्थित आफ्नै घरमा ठेकेदारहरूलाई बोलाएर फाइल मिलाउने, रकम तय भएपछि लेखा प्रमुख मुकेश प्रजापतिलाई भुक्तानी प्रक्रियाका लागि निर्देशन दिने गरेका छन्। निलम्बनमा परेका साह अहिलेसम्म पनि कार्यालयको सबै निर्णय आफूले नै गर्ने, हालका निमित्त प्रमुख रिम्पु कुमारी यादवलाई केवल ‘सहिछाप’को अधिकार दिएको आरोप लाग्दै आएको छ।
जनकपुरमै बजेट डिल?
केही दिनअघि साह लेखा प्रमुख प्रजापतीलाई साथमा लिएर जनकपुर पुगे, जहाँ उनी केही प्रदेशसभा सदस्यहरूमाथि आफ्नो प्रभाव प्रयोग गरेर बजेटको सेटिङमा लागेका थिए। स्रोतले दाबी गरेको छ, “साह जनकपुरमा सेटिङ मिलाएर साँझको फ्लाइटले काठमाण्डू पुगे – उनको नियत र गतिविधि स्पष्ट देखिन्छ।”
दोषारोपणको ओझेलमा बयान
आफूमाथि लागेका आरोपहरूलाई साहले “निराधार” भनेका छन्। आफू व्यक्तिगत कामका लागि जनकपुर गएका र हाल कुनै पनि कार्यालयको सुविधा प्रयोग नगरेको दाबी गरे। तर, उनले यिनै आरोपको खण्डन कार्यालयकै मोबाइल नम्बरबाट गरेका छन् – जसले उनको भनाइमा गम्भीर प्रश्न खडा गर्छ।
लेखा प्रमुखको ‘सावधान’ जवाफ
लेखा प्रमुख मुकेश प्रजापतीले भने आफु हालका प्रमुख रिम्पु कुमारी यादवको निर्देशनमा काम गरिरहेको दाबी गरे। तर कार्यालय स्रोतले भने साहकै इशारामा चलिरहेको संरचना कायम रहेको आरोप लगाएको छ।
निमित्त प्रमुख यादव ‘पहुंच बाहिर’
घटनाबारे प्रतिक्रिया लिनका लागि निमित्त प्रमुख रिम्पु कुमारी यादवलाई तीनपटक फोन गर्दा पनि उनले फोन नउठाएको जानकारी प्राप्त भएको छ। यसको अर्थ, कार्यालयमा प्रमुख अनुपस्थितजस्तै देखिन्छन्, जबकि सत्ता र नियन्त्रण निलम्बित साहकै हातमा देखिन्छ। साभार पिएसआर खबर




