काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग अत्यधिक रहेको बताएका छन्।
पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो प्रमुख संस्थापक दिवंगत तीर्थरत्न बज्राचार्यको २२ औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको उल्लेख गरे।
“नेपालका धेरैजसो दुर्गम क्षेत्रमा दन्त सेवाको पहुँच छैन,” मन्त्री यादवले भने, “त्यसैले ती क्षेत्रहरूमा दन्त चिकित्सकहरूको माग उच्च छ। सरकार दन्त स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्ध छ।”
कार्यक्रममा मन्त्री यादवले दिवंगत बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। “दन्त स्वास्थ्यका क्षेत्रमा बज्राचार्यको सपना अझै अधूरो छैन,” मन्त्रीले भने, “पिपल्स डेन्टल कलेजले त्यो सपना साकार पार्न योगदान दिइरहेको छ।”
कार्यक्रममा विशिष्ठ अतिथि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र शिक्षामा गुणस्तर वृद्धिका लागि विभिन्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
पिपल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि भौतिक पूर्वाधार तयार भइसकेको भए पनि अझै अध्यापन अनुमति नपाएको गुनासो राखे।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, कलेज अध्यक्ष विद्याभूषण बज्राचार्य, प्रवन्ध निर्देशक रोशन लुइटेल, प्राचार्य प्रा. डा. सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी तथा स्वास्थ्य क्षेत्रका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले दिवंगत बज्राचार्यको योगदान र नेपालको दन्त स्वास्थ्य क्षेत्रको अवस्थामाथि विचार व्यक्त गरे।



