काठमाडौँ, ३० भदौ : खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न एक समिति गठन गर्नु भएको छ ।
काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिन यतादेखि देखा परेका पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्नु हुँर्दै समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गर्नुभएको छ ।
आज मन्त्री यादवले मन्त्री स्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेश गर्न सह–सचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।
मन्त्री यादवले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो, र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताउनुभयो । उहाँले बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको बताउनु हुँदै पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।
उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति, र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो ।
उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनाहरूमा क्षति पुर्याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्री यादवले पाइपलाइन विस्तारको क्रममा गरिएका त्रुटिहरूलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नसमेत निर्देशन दिनुभएको छ ।
उक्त छानविन समितिको सदस्य सचिवमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिविक्रम राणा, सदस्यहरुमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी, र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका सह–प्राध्यापक डा. सुरज लामिछाने रहनुभएको छ ।



