
वीरगंज ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको माघ १२ गते सम्पन्न जिल्ला अधिवेशनबाट आशमहम्मद मियाँको नेतृत्वमा बहुमत सदस्यहरुको उपस्थितिमा २१ सदस्यीय समिति गठन भएकोमा संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुबेदीले एक विज्ञप्ति जारी गर्दै सो कमिटीलाई मान्यता नदिने भनि उल्लेख गर्नु भएकोमा संगठनका केन्द्रिय सल्लाहकार राघव साहले खेद प्रकट गर्नु भएको छ ।
सल्लाहकार साहले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफुले विधि विधानलाई मानेर बहुमत सदस्यहरुको अधिवेशनमा उपस्थित भएकोमा अध्यक्ष सुबेदीले म माथि कारवाही गरिएको भनि हचुवाको तालमा विज्ञप्ति निकाली चरित्र हत्या गर्न खोजेको र संगठनको जिम्मेवार पदमा बसेर विधि विधान नमानि आफ्नो पुर्खयौली सम्पत्ति ठानी संगठनको हित विपरित काम गर्दै आएको हुनाले जोडदार रुपमा राजीनामाको माग समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संगठनका नाममा गैरसांगठनिक गतिविधिमा संलग्न भएका संगठनका महासचिव रामकुमार ऐलन र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा अध्यक्ष बालगोपाल थापाको लहलहैमा परेर संगठनका अध्यक्ष विश्वमणी सुबेदी लगायतका केही व्यक्तिहरुले बहुमत पक्ष सँग रायसल्लाह नै नगरी हचुवाको तालमा एकलौटी अधिवेशन गरी अवैधानिक जिल्ला समिति गठन गर्ने काम गरेको साहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छतकुली र पार्टी अध्यक्ष बालगोपाल थापा सँग १२ गते बिहान छुटा–छुटै सम्बाद हुँदा मैले पर्सा जिल्लाको संगठनमा करिब एक वर्ष देखि नै दुई वटा कमिटी रहेकोले दुबै पक्षबाट दुई÷दुई जना र बिवादित व्यक्ति बाहेक सर्वमान्य एक जना केन्द्रिय सदस्यलाई संयोजक बनाएर ५ सदस्यीय आयोजक कमिटी बनाई एक महिनाको समय दिई अधिवेशन गराउँदा सभ्य र भव्य हुने भएकोले सोही अनुसार गर्न गराउन सल्लाह दिदा वहाँहरुले यो पनि सल्लाह राम्रै हो र उत्ताबाट कुराकानी गरेर तपाईलाई सम्पर्क गर्छौ भने पनि पछि म सँग वहाँहरु सम्पर्क नगरेको साहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही दिन दिउसो करिब २ बजेको समयमा पार्टी अध्यक्ष थापाको मोबाईलबाट अध्यक्ष सुबेदीले मलाई सम्पर्क गरी “राघव जी तपाईलाई पहिला जतिको भाउ दिन सकिदैन्, तपाईले भने अनुसार हुँदैन, हामीले चाहे अनुसार गर्ने हो, अधिवेशन सुरु हुँदै छ आउने भए आउनुस नभए केही छैन्” भनि मोबाईल फोन काटिदिए । वहाँहरुले अधिवेशन सुरु गर्दा दुई चार जना बाहेक बाकी पदाधिकारीहरु बिवादित अधिवेशनमा सहभागी नभएको जनाईएको छ । अध्यक्ष सुबेदीले दुई तिहाईको हवाला दिएर अधिवेशन सम्पन्न भएको भनि जारी गरेको विज्ञप्तिमा सत्यता नरहेको बताउदै साहले अध्यक्ष सुबेदी सहभागी भएको अधिवेशनमा दुई तिहाई त के, बहुमत नपुगे राजीनामा दिनु हुन्छ रु भनि प्रतिप्रश्न समेत गरेका छन् । संगठन विधि विधानले चल्ने हो । विधि विधान भन्दा माथि कोही छैन् तर अध्यक्ष सुबेदीले माथि बसेर संगठनलाई भाडभैलो बनाउदै हुनुहुन्छ । यसमा संगठनका सम्पूर्ण साथीहरुलाई सचेत रहन साहले विज्ञप्ति मार्फत आग्रह समेत गर्नु भएको छ ।
यदि म विधि विधान बाहिर गएर संगठनको हित विपरित काम गरेको छु भने विधानको धारा पल्टाएर स्पष्टीकरण सोधी चित नबुझे संगठनको केन्द्रिय कमिटीको बहुमत साथीहरु सँग निर्णय गराई कारवाही गर्न सल्लाह दिन्छु । होईन भने, हचुवाको भरमा विज्ञप्ति निकालनुको बेतुकको अर्थ नरहेको उल्लेख छ ।
अध्यक्ष सुबेदीले फरक पेशा र व्यवसायका साथीहरुलाई समेटी अधिवेशन सम्पन्न गर्नु भएकोमा साहले खेद प्रकट गर्दै अध्यक्ष सुबेदीले जारी गर्नु भएको विज्ञप्तिमा साह माथि काल्पनिक आरोप लगाएको उल्लेख छ । पार्टी जिल्ला अध्यक्ष बालगोपाल थापाको बारेमा पार्टी गठन हुँदा सुरु–सुरुमा पार्टी प्रति आकर्षित भएका पर्साका धेरै कार्यकर्ताहरु थापाकै कारण पार्टी छोडिसकेको जनाईएको छ । थापाले जिल्ला सचिवालयको बैठक बसाएको करिब ११ महिना भईसकेकोले यसले पुष्टि हुन्छ कि थापाले पार्टी प्रति कतिको जिम्मेवार हुनुहुन्छ । पर्सा पार्टीलाई खरानी बनाईसकेका अध्यक्ष थापा जस्तै अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन व्यक्ति रहेको साहको आरोप छ ।
१२ गते सम्पन्न भएको पर्साको अधिवेशनमा अध्यक्ष सुबेदी सहभागी हुनु भएको बहुमत पक्ष कि साह सहभागी हुनु भएको बहुमत पक्ष संगठन भन्दा माथि हाम्रो गौरवशाली पार्टी नेकपा एकीकृत समाजवादी केन्द्रिय समिति, केन्द्रिय प्रचार विभाग समिति रहेकोले दुधको दुध र पानीको पानी छुटयाई दिनेमा साह विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
मियाँ नेतृत्वको अधिवेशनमा संगठनका केन्द्रिय सल्लाहकार तथा केन्द्रिय प्रचार विभागका सदस्य साह प्रमुख अतिथि रहेका थिए । साहले अधिवेशनमा संगठनका पुराना सदस्यहरु मध्ये बहुमत पक्ष र केही नयाँ सदस्यका रुपमा थप भएका पत्रकारहरुको उपस्थिति रहेकोमा नवनिर्वाचित जिल्ला समितिलाई साहले सपथग्रहण खुवाएका थिए ।

यस्तै समाजवादी प्रेस संगठन नेपालले केन्द्रिय सल्लाहकार राघव साहलाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ । संगठनको बिधानका निति बिपरित काम गरेको भन्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राघव साहलाई संगठनको सधारण सदस्य समेत नरहने गरी निकाष्ति गरेको हो ।
साथै नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा यस संगठनका साधारण सदस्य अजय चौरसियालाई संगठनको हित विपरित भइरहेका गतिविधिबाट अलग हुन र संगठनका वैधानिक गतिविधिमा मात्रै संलग्न हुन सचेत गराएको छ । आफ्ना भूमिका र गतिविधिलाई नसच्याए अर्को कदम चालिने चेतावनी समेत दिएको छ । विज्ञप्ति मार्फत यही माघ १२ गते वीरगंज अलखिया मठ स्थित वृन्दावन होटलमा सम्पन्न दोश्रो अधिवेशनबाट शम्भु कुमार सुमनको नेतृत्वमा चयन १७ सदस्यीय कमिटिलाई वैधानिकता दिएको छ ।
विज्ञप्तिमा ‘संगठनका केन्द्रीय अध्यक्षसहितका पदाधिकारी, पार्टी जिल्ला कमिटीका अध्यक्ष एवं प्रचार विभाग प्रमुख क।बालगोपाल थापा, पार्टीका वीरगंज महानगर कमिटीका अध्यक्ष क।मनोज चौधरीसहितको उपस्थितिमा सम्पन्न भएको उक्त अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उक्त अधिवेशनमा संगठनको केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई र नयाँ सदस्यका रुपमा थप भएका १० जना पत्रकारको उपस्थिति थियो । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीबाट सम्पन्न भएको छ’ उल्लेख गरिएको छ ।
यसको साथै संगठनका नाममा गैरसांगठनिक गतिविधिमा संलग्न भएका केही व्यक्तिले विशेष जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै अवैध तवरले अर्को जिल्ला सम्मेलनको आयोजना गरी त्यसका फोटो र ‘निर्वाचित’ भएको भनी कार्यसमितिको नामावली सार्वजनिक गरेको कार्य स्वीकार्य नरहेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
अधिवेशनअघि संगठनका नाममा अवैध गतिविध गर्ने पक्षसँग स्थानीय पार्टी नेतृत्व, केन्द्रबाट तोकिएका संगठनका पदाधिकारीले बारम्बार संवादको माध्यमबाट समाधानको खोजी गर्ने प्रयत्न गर्दा पनि पार्टी र संगठनले बोलाएको समय र स्थानमा नआउने, काल्पनिक प्रकारका आरोप र समाधान सम्भव नहुने शर्तहरु अगाडि सार्ने काम गरेको हुँदा शम्भु कुमार सुमनको नेतृत्वमा निर्वाचित कमिटि बाहेक अन्य कमिटि वैधानिक नरहेको विज्ञप्ति मार्फत जनाएको छ ।
‘हाम्रो संगठनको अभ्यासअनुसार कुनै पनि भेला, अधिवेशन र कमिटी गठनका काम संगठनको प्रदेश, केन्द्रीय कमिटी र पार्टीको सम्बन्धित तहको प्रचार विभागसँगको समन्वयमा मात्रै हुने गर्दछ । अन्यथा त्यसविपरित भए, गरिएका कुनै पनि गतिविधि वैधानिक हुँदैनन् । होटल वृन्दावनमा सम्पन्न अधिवेशनबाहेक कुनै पनि नामका भेला, अधिवेशन र कमिटी यस संगठनलाई स्वीकार्य छैन’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘संगठनले विगतमा सदस्यता दिएको र पछि पत्रकारिता पेशामा संलग्न नभई अन्य पेशा र व्यवसाय गर्ने कारण सदस्यता खारेज गरिएका व्यक्तिहरुलाई विभिन्न पदमा निर्वाचित भएको भनी नाम सार्वजनिक गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल पत्रकारिता गर्ने पत्रकारहरुको मात्रै संगठन भएको हुँदा फरक पेशा र व्यवसायका व्यक्तिहरु यस संगठनको साधारण सदस्य पनि रहन योग्य हुँदैनन् । त्यसमध्ये नेपाल पत्रकार महासंघको सदस्य बन्ने योग्यता नपुगेका र पत्रकारिता पेशामा संलग्न नरहेका कारण संगठनको सदस्यता खारेजीमा परिसकेका गैरपत्रकारहरुलाई विभिन्न पद बाँडेर सार्वजनिक गरिएको कमिटी यस संगठनको नभएको पुनः स्पष्ट पारिन्छ । होटल वृन्दावनमा सम्पन्न अधिवेशनमा केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई सदस्यको उपस्थिति थियो । उक्त अधिवेशनमात्रै वैधानिक हो ।’
यसरी समाजवादी प्रेस संगठन नेपालको आन्तरिक एकता, अनुशासनसहित संगठनका नीति र विधिका विरुद्ध पटक पटक प्रश्नयोग्य भूमिका खेल्दै आएका यस संगठनका केन्द्रीय सल्लाहकार राघव साह रहेको संगठनको ठहर छ । उनलाई संगठनको केन्द्रीय नेतृत्व र पार्टीको जिल्ला नेतृत्वले माघ ११ र १२ गते पटक पटक सम्पर्कमा आउन र आफ्ना कुराहरु राख्न अनुरोध गर्दा पनि पार्टी र संगठनले बोलाएको स्थान र समयमा नआउने, बाहिर बाहिरै रहेर अन्य साथीहरुका सन्दर्भमा काल्पनिक आरोप लगाउने र अनुचित शर्तहरु राख्ने काममा सक्रिय रहेकोले संगठनका केन्द्रीय सल्लाहकार राघव साहलाई आजैको मितिदेखि लागु हुने गरी यस संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



