वीरगञ्ज — वीरगञ्ज को मुख्य बजार क्षेत्रअन्तर्गत गीता मन्दिर रोड आसपास आज गरिएको संयुक्त अनुगमनमा सरसफाइ, मूल्यसूची तथा कानुनी कागजातमा लापरबाही गर्ने व्यवसायीमाथि कारबाही गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज को नेतृत्वमा खटिएको टोलीले होटल तथा रेष्टुरेन्टहरूको निरीक्षण गर्दै चार व्यवसायलाई कुल २५ हजार रुपैयाँ जरिवाना गरेको हो।
अनुगमनका क्रममा फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसः र सोखिन म:म सेन्टरमा खाद्य स्वच्छता, सरसफाइ, मूल्यसूची तथा सञ्चालन मापदण्डबारे सूक्ष्म रूपमा जाँच गरिएको थियो। टोलीले विशेषगरी भान्सा क्षेत्रको सरसफाइ, खाद्य सामग्री भण्डारण, प्रयोग हुने पानीको गुणस्तर तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइमा ध्यान दिएको जनाएको छ।
निरीक्षणका क्रममा केही व्यवसायले आवश्यक मापदण्ड पूरा नगरेको, मूल्यसूची नराखिएको तथा कागजात अद्यावधिक नगरेको पाइएपछि तत्काल सुधारका लागि निर्देशन दिँदै जरिवाना गरिएको जनाइएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै आगामी दिनमा पनि कडा निगरानी जारी रहने टोलीले स्पष्ट पारेको छ।
टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित तथा स्वस्थ खाद्य सेवा उपलब्ध गराउन सचेत गराएको छ। मापदण्ड पालना नगरे थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
अनुगमन टोलीमा वाणिज्य कार्यालयका मधुलेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, जिल्ला प्रशासन कार्यालयका ब्रह्मदेव यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामबाबू प्रसाद यादव तथा सञ्चारकर्मी अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
यस्ता बजार अनुगमन कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।



