एशिया कपको तेस्रो खेलमा चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। श्रीलंकाको पल्लेकेल रंगशालामा भारत र पाकिस्तानको खेल हुनेछ।
एशियाका दुई ठूलो टोली चार वर्षपछि मैदानमा देखिन लागेका हुन्। चार वर्षअघि भारत र पाकिस्तानबीच विश्वकपमा प्रतिस्पर्धा भएको थियो।
भारत र पाकिस्ताबीच भएका पछिल्ला पाँच प्रतिस्पर्धामा भारत नै बलियो देखिएको छ। भारतले चार खेल जितेको छ जसमा दुई खेलमा डीएल पद्धतिबाट विजयी भएको थियो भने पाकिस्तान एक खेलमा मात्री विजयी भएको थियो।
दुवै टोलीले छुट्टा छुट्टै प्रतिस्पर्धा गरेका पछिल्लो पाँच खेलमा भने पाकिस्तान नै बलियो देखिन्छ। पाकिस्तानले पाँचमध्ये चार खेल जितेको छ भने भारतले पाँचमध्ये दुई खेल मात्रै जितेको छ।
त्यस्तै, आईसीसी विश्व वरीयतामा पाकिस्तान पहिलो नम्बरमा छ। भारत भने तेस्रो नम्बरमा छ। पाकिस्तानका कप्तान बाबर आजम आईसीसीको वरियतामा पहिलो नम्बरमा छन्। नेपाल विरुद्धको खेलमा उनले १५१ रन बनाएका थिए।
एशिया कप समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्। दुवै समूहका शीष दुई टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
आजको खेल पाकिस्तानले जितेमा नेपालको अर्को चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहनेछ। आजको खेल भारतले जितेमा भने नेपाल एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिनेछ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपालको अर्को खेल भदौ १८ मा भारतसँग हुनेछ।
भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार, आज दिउँसो ३:१५ बजे शुरु हुनेछ।



