वीरगञ्ज, ३० वैशाख । ‘शिक्षाका लागि दौड’ नाराका साथ वीरगञ्जमा आयोजित म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
राउण्ड टेबल नेपालद्वारा शनिबार आयोजित ‘वीरगञ्ज म्याराथन – शिक्षाका लागि दौड’ सफलतापूर्वक सम्पन्न भएको हो ।
वीरगञ्जको आदर्शनगरस्थित पूरानो बसपार्कबाट सुरु भएको चार किलोमिटर लामो म्याराथनमा नगरका विभिन्न स्थान हुँदै पुन: पूरानो बसपार्क मै पुगेर सम्पन्न भएको थियो ।
म्याराथनमा अमरनाथ साह प्रथम भए । साह सबैभन्दा छिटो सुरुवाती बिन्दूबाट दौड सुरु गरेर पुन: पूरानो बसपार्क पुगेका थिए । उनलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
दौडमा सत्रुधन पटेल दोस्रो र आलोक चन्द्र झा तेस्रो भए । उनीहरुलाई क्रमस ५ हजार र २५ सय रुपैयाँबाट पुरस्कृत गरिएको संस्थाका दिपाल खन्नाले जानकारी दिए ।
त्यस्तै सान्तावाना पुरस्कार स्वरूप चौथोदेखि आठौँ स्थानमा दौड सम्पन्न गरेका पाँच जनालाई ५ सय रुपैयाँको दरले पुरस्कृत गरिएको उनले बताए ।
विजेताहरुलाई राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जयन्त अग्रवाल, विशिष्ट अतिथि प्रायोजक हिमालयन बैंकका वीरगञ्ज शाखा प्रवन्धक अमर अमात्य, राउण्ड टेबल इन्टरनेशनल आसपा क्षेत्रका प्रमुख सौरभ केडिया, क्षेत्र ३ का संयोजक आरोह मित्तल, वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल – ८ का कार्यक्रम प्रमुख मनिष लाठलगायतले प्रमाणपत्र र पुरस्कार रासी बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयन्त अग्रवालले शिक्षाका लागि आयोजित दौडको परोपकारी नाराका साथ आयोजित म्याराथनमा वीरगञ्जवासीले देखाएको सहभागिताबाट आफू उत्साहित भएको बताए ।
म्यारथन आयोजनाको उद्देश्य शिक्षा मात्र नभएर स्थानीयलाई स्वस्थ रहन सन्देश दिनुपनि रहेको उनको कथन थियो । उनले आगामी दिनमा पनि राउण्ड टेबल नेपालले यस्ता कार्यक्रमको आयोजना गर्दा वीरगञ्जवासीको सहयोगको अपेक्षा गरेको बताए ।
त्यसैगरी विशिष्ट अतिथि हिमालयन बैंकका वीरगञ्ज शाखा प्रवन्धक अमर अमात्यले शिक्षामा योगदान पुर्याउने उद्देश्यले आयोजित म्यारथनमा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए ।
अमात्याले आगामी दिनमा पनि यस्ता कार्यक्रममा आफ्नो बैंकले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा केएनपी नेरोल्याक पेन्ट, म्याजिक वेल्स, नेपोभिट टाइल्स, एनएमबी बैंक, सनराइज बैंक, क्वेस्ट फार्मास्युटिकल, नेपाल मेडीसिटी वयोधा अस्पताललगायतले सहयोग गरेका थिए । त्यस्तै कार्यक्रमको मिडिया पार्टनर यात्राडेली र एड्सबी मिडिया प्रालि रहेको थियो ।
परोपकारी मनसायले शिक्षा क्षेत्रमा लगानी गर्दै आएको राउण्ड टेबल नेपालले सहयोगका लागि पैसा जुटाउन म्यारथन आयोजना गरेको खन्नाले बताए ।
खन्नाकाअनुसार म्याराथनबाट उठेको पैसा वीरगञ्जलगायत देशका विभिन्न स्थानमा संस्थाले निर्माण गरिरहेको विद्यालय भवनलगायत पठनपाठन सामग्री खरिद, विद्यार्थीलाई छात्रवृत्ति प्रदानमा प्रयोग गरिने छ ।
यसअघिपनि संस्थाले विद्यालयको भवन निर्माणदेखि त्यहाँ आवश्यक रहेका सामग्री सहयोग, बालबालिकालाई छात्रवृत्ति र पठनपाठन प्रदान, रक्तदान जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
केहि दिन अगाडि मात्रै संस्थाले देशभारका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।