वीरगञ्ज, ९ पुष । भारतका बहुचर्चित कलाकार एवम् लोकप्रिय नेता मनोज तिवारीले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको प्रशंसा गरेका छन् । भारतका लोकसभा सदस्य एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता तिवारीले शुक्रवार एक ट्विट गर्दै यादवको प्रशंसा गरेका हुन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवले भोजपुरी संस्कृति झल्किने भेषभुषा पहिरिएर भोजपुरी भाषामा शपथ लिएपछि यादवको चौतर्फी चर्चा चुलिएको हो । भोजपुरी भाषाका प्रसिद्ध गायकसमेत रहेका मनोज तिवारीले यादवको तारिफ गर्दै ट्विट गरेका छन् ।
उनले ट्विटरमा भोजपुरीमा लेखेका छन्, ‘नेपालको संसदमा प्रदीप यादव जीले भोजपुरी भाषामा शपथ लिनुभएको खबरले मन अत्यन्तै हर्षित भएको छ । छिटै हाम्रो सपनालाई सार्थकतामा बदल्न निरन्तर प्रयास जारी छ ।’
यसअघि भोजपुरी अभिनेता एवम् सुप्रसिद्ध गायक खेसारीलाल यादवले पनि प्रदीप यादवको प्रसंशा गरेका थिए ।