वीरगन्ज ,११चैत – वीरगन्जका पत्रकार स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् । वीरगन्जकै पत्रकार स्वर्गीय नरेश सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थपना गरेको २१ हजार रुपैयाँ नगद राशीको उक्त पुरस्कार पत्रकार सिंहले पाउने भएका हुन् । शनिबार बसेको पत्रकार महासंघ पर्सा शाखाको बैठकले उक्त निर्णय गरेको अध्यक्ष अनुप तिवारीले जानकार दिए ।
विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने महासंघको यसअघिको निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरिएको उनले बताए ।
प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।
चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन उक्त पुरस्कार पत्रकार सिंहलाई प्रदान गरिने अध्यक्ष तिवारीले बताए ।
यस्तै बैठकले पर्साका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम सन्चालन गर्ने र चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसका दिन वीरगन्जमा प्रभातफेरि निकाल्ने निर्णय पनि गरेको अध्यक्ष तिवारीले जानकारी दिए ।