पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलोमिटर जङ्गल क्षेत्रलाई समेटेर आरक्षको रुपमा स्थापना गरिएकोमा २०७२ सालमा बारा तर्फको एक सय २८ दशमलव ३९ वर्ग किलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि आरक्षमा समाहित गरेर ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटरमा यसको क्षेत्रफल बिस्तार गरिएको थियो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरेको हो । २०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुल्ला गरिएको हो ।
प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको अवलोकन गर्न सकिने जैविक विविधताको धनी मानिने पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय यस क्षेत्रका आन्तरिक पर्यटकसँगै सीमावर्ती भारतीय पर्यटकको रोजाइमा पर्दै गएको छ । निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिक स्थलहरू छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दह जस्ता प्राकृतिक तथा मनोरम दहहरू पनि छन् । यसका साथै दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको बाक्लो उपस्थिति यो निकुञ्जमा छ । यहाँ दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिंगे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरी गाईलगायतका जनावरहरू छन् भने झण्डै तीन सय प्रजातिका चराचुरुङ्गी यो निकुञ्जभित्र अवलोकन गर्न पाइन्छ ।
पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन भ्यु टावर बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र फायर लाइन पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्न सक्ने व्यवस्था समेत मिलाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साह बताउँछन् । उनी भन्छन्, “निकुञ्जलाई मधेश प्रदेशको एउटा बलियो र आकर्षक पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज हर प्रयास गरिरहेको छ । त्यसका लागि यहाँ आउने पर्यटक निकुञ्जमा भ्रमण गर्ने सहज वातावरण निर्माण गर्न र मनोरञ्जनसँगै अन्य सेवा प्रदान गर्न निकुञ्जले पूर्वाधारको निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
निकुञ्जलाई मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै निकुञ्जको प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको छ । पर्यटन वर्षको मौका छोपेर नेपालका साइकल यात्रीहरूलाई हरेक वर्ष निकुञ्जभित्र साइकल यात्राको आयोजना गर्दै आएको निकुञ्जले यहाँ आउने पाहुना पर्यटकलाई मिठो आतिथ्य सत्कार समेत गर्ने गरेको छ ।
निकुञ्जको भ्रमण गर्न आउने पाहुनाको स्वागतका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रको बफर जोनमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा छ । जसले यहाँ आउने पाहुनालाई मिठो आतिथ्यतासँगै स्वादिलो भोजन र गीत सङ्गीतले मनोरञ्जन प्रदान गर्ने गरेको छ । स्थानीय लोक संस्कृतिमा पर्यटकको स्वागतमा तयार सुनाखरी सामुदायिक होमस्टेले प्रदान गर्ने आतिथ्यताले पाहुनाको मनै लोभ्याउँछ । होमस्टेमा पर्यटक आउँदा स्थानीयहरू पनि दङ्ग पर्छन् । निकुञ्जमा पर्यटकीय चहलपहल बढेपछि होमस्टेको माध्यमबाट बस्तीमा रोजगारी आएको स्थानीय रामबहादुर पाख्रिन बताउँछन् । उनी भन्छन्, “ बस्तीमा पर्यटक आउन थालेपछि हाम्रो आम्दानीमा वृद्धि भएको छ । घरमै भएको चामल पिठो बजारमा बेच्दा थोरै पैसा आउँछ, त्यसैको खाना पकाएर पाहुनालाई खुवाउँदा त्यो भन्दा तीन गुणा बढी पैसा आउँछ ।”
पर्यटन क्षेत्र रोजगारी र विकासको मेरुदण्डको रुपमा स्थापित हुँदै गएको छ । पर्यटनको विकास फस्टाएको ठाउँमा रोजगारी र विकासले फड्को मारेको वर्तमान अवस्थामा विकास चाहनेहरूको प्राथमिकतामा पर्यटन पर्न थालेको छ । सङ्घीय लोकतान्त्रिक पद्धतिको अभ्यास गरिरहेको नेपालमा तिनै तहको सरकारले आफ्नो ठाउँलाई समृद्ध र विकसित बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । यसका लागि पर्यटनका सम्भाव्यताहरूको अध्ययनसँगै पर्यटकीय गन्तव्यहरूको पहिचान गरी त्यसमा लगानीको वातावरण निर्माण गर्ने क्रममै छन् ।
तराईका आठ जिल्लालाई समेटेर निर्माण गरिएको मधेश प्रदेशले पनि पर्यटनको विकासको माध्यमबाट रोजगारी र विकास सृजना गर्ने क्रममा पहिचान गरिएको एउटा नयाँ तर पुरानो गन्तव्य हो पर्सा राष्ट्रिय निकुञ्ज । निकुञ्जभित्र आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क प्रतिव्यक्ति भ्याटसहित एक हजार रुपैयाँ र हात्ती चढेको ६ सय ५० रुपैयाँ तोकिएको छ भने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ र हात्ती चढेमा ६ सय ५० रुपैयाँ तोकिएको छ ।
निकुञ्जको सिमाना बारा, पर्सा र मकवानपुर जिल्लासम्म फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्रको रुपमा रहेको यो निकुञ्ज ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको धेरैजसो भूमि ढाकेको छ । ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको पूर्वमा रतनपुरको जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीवास, उत्तरमा बफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ । यहाँका रमणीय तालतलैया, जङ्गल र दुर्लभ जीवजन्तुको आकर्षणले निकुञ्ज पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहको भनाई छ । उनी भन्छन्, “ गैँडा हेर्नका लागि यस भेगका पर्यटक चितवन राष्ट्रिय निकुञ्ज जान्छन् । तर उँहाहरुलाई थाहा छैन कि पर्सा राष्ट्रिय निकुञ्जभित्र ८ वटासम्म गैँडा छन् । निकुञ्जको प्रतापपुरमा गैँडासँगै तिन चार सयको सङ्ख्यामा चित्तल र अन्य वन्यजन्तु सहजै हेर्न सकिन्छ । यो सन्देश पर्यटकमा पुर्याउन सक्ने हो भने गैँडा हेर्ने पर्यटकका लागि यो राम्रो गन्तव्य बन्न सक्छ ।”
वन र वातावरणसँगै वन्यजन्तुको अवलोकन गर्दै रमाउन केही वर्षअघिसम्म यस भेगका आन्तरिक तथा भारतीय पर्यटकहरूका लागि चितवन राष्ट्रिय निकुञ्ज बाहेक अन्य गन्तव्य थिएन । तर पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको सफारीसँगै जिप चढेर जङ्गल सफारी गर्ने वातावरण बनेपछि अहिले यो मधेश प्रदेशकै आकर्षक गन्तव्यको रुपमा विकसित हुँदै गएको हो । निकुञ्जमा पर्यटक आउन थालेपछि यस क्षेत्रमा होटल तथा रिसोर्ट व्यवसायीहरूले लगानी गर्न थालेका छन् ।
राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएका रिसोर्टले पर्यटकलाई झनै आकर्षित गरेको छ । पर्यटकलाई मिठो र स्वादिलो खानासँगै बासको व्यवस्थापन गर्न यसका वरिपरि करोडौँ रुपैयाँ लगानीमा रिसोर्टहरु खुलेका छन् । केही नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा छन् । यसले स्थानीय स्तरमा युवा रोजगारीको समेत सृजना गर्दै गएको छ ।