बीरगञ्ज ।
पर्सामा हैजा रोग विरुद्ध सञ्चालित प्रतिकार्य खोप अभियानको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति निरञ्जन सर्राफ (अजय), स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, विश्व स्वास्थ्य संगठनमा कार्यरत डा. पवन उपाध्याय सहितको टोलीले खोप अभियानको अनुगमन गरेको हो ।
अनुगमन टोलीले पर्साको विन्दवासिनी गाउँपालिका, ठोरी गाउँपालिकाका विभिन्न खोप केन्द्रमा पुगेर अनुमगन गरेको थियो । जिल्लामा २६ असोज आईतबारदेखि नै हैजा विरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनमा छ ।
हैजाबाट बढी प्रभावित वीरगञ्ज महानगरपालिका सहित पर्सा र बाराका २० पालिकामा अभियान सञ्चालनमा ल्याइएको हो । पर्साको १४ वटै पालिका र बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सञ्चालनमा छ ।
पर्सामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ लक्षित जनसंख्यालाई खोप खुवाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि ११७ स्वास्थ्य संस्था सहित १ हजार ९ सय ५१ खोप केन्द्र तय गरिएको छ। हरेक घरमा स्वयंसेवक पुगेर खोप खुवाउने कार्यक्रम छ ।
स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार हालसम्म १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका विरामी भेटिएका छन् ।
आरडिटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएका तीन जनामा गम्भीर संक्रमण हुँदा किड्नी डायलाइसिस गर्नुपर्ने भएको छ । ६ भदौमा पहिलो पटक वीरगञ्जको मुर्लीटोलका एकजना विरामीमा आरडिटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय पर्साका खोप फोकल पर्सन जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बिहीबारसम्म ३ लाख ८४ हजार ६३ जनाले खोप सेवन गरिसकेको जानकारी दिए ।
अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ (ओसीभी) उपलब्ध गराएको छ ।
बारा–पर्साका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस भ्याक्सिन आएको छ । “एक वर्ष उमेर माथिका” १० लाख १८ हजार जनालाई खोप खुवाउने लक्ष्य राखिएको छ । मुखबाट खुवाइने यो खोप तयारी झोलको रूपमा प्लास्टिकको ट्यूबमा उपलब्ध छ । एक जनाले एक डोज खोप खुवाइन्छ ।
ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङले खोप केन्द्रसँगै घरभेटलाई पनि जारी राखिएको बताए । धान भित्र्याउने समय भएकोले अवस्था बुझेर खोप खुवाउने समय तय गरिएको उनी बताउँछन् ।
‘कुन गाउँटोलमा कसरी काम हुँदैछ, बिहान, दिउँसो, बेलुका उनीहरुलाई कसरी पायक पर्छ, त्यसैगरि खोप केन्द्र सञ्चालन गरेका छौं ।’ शाखा प्रमुख थिङले भने ।
हैजा रोग, खोपको प्रभावकारिताबारे बताउँदा पनि खोप लिन नमान्ने व्यक्तिलाई जनप्रतिनीधि, शिक्षक तथा गाउँका अगुवा मार्फत सम्झाई बुझाई गर्ने गरेको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले हैजा विरुद्धको खोप अभियानबाट कोहि नछुटोस भनेर लागि परेको बताए ।
‘एक जना पनि नछुटोस भनेर लागि परेका छौं । खोप केन्द्रमा आउन नसक्ने मानिसहरुलाई घर घरमा गएर खोप खुवाएका छौं । ठोरीमा खोप अभियान सफल भएको छ ।’ अध्यक्ष श्रेष्ठले भने ।
अभियान सफल बनाउन पालिकाका सबै जनप्रतिनीधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरु, शिक्षक समेत खटिएको उनको भनाई छ ।
खोप अभियानमा सहभागिता कस्तो छ ? के कस्ता समस्या देखिएको छ ? भनेर अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
‘अन्यत्र भन्दा ठोरीमा जनसंख्या कम भएकोले खोप केन्द्रमा मानिसहरु पातलो देखियो तर स्थानीय तहको सक्रियतामा अभियान सञ्चालन गरिरहेको देखियो । यो खोप सेवन गर्नु हुँदैन भन्ने खालको कुरा कतैपनि सुनेनौं ।’ उनले भने, ‘खोप कार्यक्रम सफलता तर्फ उन्मुख भएको देखिएको छ । खोप सेवनपछि कसैलाई पनि नकारात्मक असर परेको देखिएको छैन । खोप अभियान सफल हुँदैछ, सबै मानिसहरु समेटिनुहुन्छ ।’
छुटेका व्यक्तिहरुलाई घरदैलोमा पुगेर वा एक दिन समय थपेर भएपनि सबैलाई खोप खुवाएर खोप कार्यक्रम सफल बनाउनुपर्ने उनको भनाई छ ।



