वीरगंज। ७०औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा वीरगंज–१५, भिष्वा डाँडा स्थित बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख एसएसपी शान्तिराज कोईराला, डीएसपी किशोर लम्साल, ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट, प्रहरी निरीक्षक निरोज चौलागाईंलगायत विभिन्न शाखाका प्रहरी अधिकारी तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी टोलीले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर तथा आसपासका क्षेत्र सफा गर्दै वातावरणीय सरसफाइमा सक्रिय भूमिका निभाएका थिए।
एसएसपी कोईरालाले प्रहरी दिवस केवल औपचारिकता नभई समुदायसँगको सम्बन्ध बलियो बनाउने अवसर भएको बताउँदै, प्रहरी समाजसेवा र जनचेतनामा पनि अग्रसर रहनुपर्ने बताए।
डीएसपी लम्सालले यस्ता कार्यक्रमले प्रहरी र स्थानीय समुदायबीच विश्वास र सहकार्य सुदृढ गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रहरीले “प्रहरी जनताको साथी, सेवा र सुरक्षाका लागि सधैं तत्पर” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए।



