वीरगञ्ज । वुमेन्स क्रिएसनको आयोजनामा वीरगञ्जको होटल दियालोमा “२१ औं समर प्रदर्शनी” भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विधा, क्षेत्र र व्यापारिक दृष्टिकोणलाई मध्यनजर राखी आयोजना गरिएको सो कार्यक्रमले नयाँ व्यापारिक सोच र महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्दै महिला व्यवसायीहरूलाई सफलताको बाटो देखाउने उद्देश्य राखेको आयोजक संस्थाकी अध्यक्ष अञ्जु रूंगटाले जानकारी दिनुभयो।
कृष्ण जन्माष्टमी, रक्षा बन्धन र मारवाडी समुदायको परम्परागत पर्व सिन्धारा लाई लक्षित गरी आयोजना गरिएको सो प्रदर्शनीमा ५० वटा स्टलहरू राखिएका थिए भने १,००० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो।
भारतको मुजफ्फरपुर, बेतिया, कलकत्ता लगायत सीमावर्ती ठूला गाउँहरूसँगै नेपालको काठमाडौं, नारायणगढ, सिराहा लगायत वीरगञ्जका व्यवसायीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए।
प्रदर्शनीमा महिला श्रृंगार, पूजा–आजाको सामग्री, महिला लुगाफाटा, घर सजावट सामग्री, विभिन्न प्रकारका परिकारहरू, सौन्दर्य प्रसाधन ९कस्मेटिक्स०, र गहना–आभूषणजस्ता विविध विधाका वस्तुहरूका स्टल राखिएका थिए।
कार्यक्रमको मुख्य प्रायोजक रोयल इनफिल्ड रहेको थियो भने सह–प्रायोजकमा बिगमास्टर, क्वेस्ट फार्मिया, ग्यालेक्सी र प्रेमिया रहेका थिए।
आयोजक संस्थाकी सक्रिय सदस्य अपर्णा पटवारीले यो कार्यक्रम व्यापारिक दृष्टिकोण मात्र नभई, उपयुक्त स्थान र अवसर नपाएका महिलाहरुलाई निःशुल्क स्टल प्रदान गरेर उनीहरूको उद्यमशीलताको विकासमा सहयोग पु९याउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंहको उपस्थिति रहेको थियो। साथै, वीरगञ्ज चेम्बर अफ कमर्सका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक तेमानी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रधिश्याम समाल तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्राको पनि गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रम सफलताको साथ सम्पन्न भएको जानकारी वुमेन्स क्रिएसन की सदस्य नूतन सरावगीले दिनुभयो। उहाँका अनुसार प्रदर्शनीले महिला सशक्तीकरण, व्यापारिक सोचको प्रवर्द्धन र क्षेत्रीय सहकार्यमा सशक्त भूमिका खेलेको छ।



