रौतहट — तस्करी नियन्त्रणमा खटिनुपर्ने प्रहरी स्वयं तस्करीको संरक्षणमा लागेको गम्भीर आरोपमाथि झनै विवाद चर्किएको छ, जब तस्करीमा मुछिएका एक बदनाम घुमुवा प्रहरीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ।
रौतहट जिल्लाका सीमावर्ती नाकामा तस्करी नियन्त्रण गर्नुपर्ने संवेदनशील जिम्मेवारीमा रहेका प्रहरीहरूमाथि उल्टै तस्करी प्रवर्द्धनमा संलग्न भएको आरोप स्थानीय र स्रोतहरूबाट खुलेर आउन थालेको छ।
तस्करी र असुली धन्दामा मुछिएका प्रहरी सहायक हवल्दार ध्रुव प्रसाद यादवलाई हालै आएका प्रहरी उपरीक्षक ९एसपी० नेत्रमणि गिरीले महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मान गरेपछि प्रहरी संगठनमै आन्तरिक आक्रोश फैलिएको छ।
यादव रौतहटको अस्थायी प्रहरी चौकी हररनगरमा दरबन्दीमा भए पनि कहिल्यै नियमित ड्युटीमा देखिँदैनन्। उनलाई गौर भन्सार क्षेत्र वरिपरि ‘सहमति’सहित घुमिरहेका अवस्थामा देखिन्छ, जहाँबाट तस्करीको मुख्य लहर चल्ने गरेको स्रोत बताउँछ।
एक प्रहरी स्रोत भन्छ, “हामीले नियन्त्रणमा लिएका सामान यादवको सिफारिसमा एसपीकै निर्देशन भन्दै छोड्न भनिन्छ।”
यससँगै प्रहरी निरीक्षक सारेज दर्लाकोटी र यादवको ‘सेटिङ’ मा तस्करी धन्दा दिन प्रतिदिन संगठित हुँदै गएको स्रोतहरू बताउँछन्। चेकपोस्ट सरह चल्ने उक्त चौकीमा ूपोष्टिङ टेण्डरजस्तो प्रतिस्पर्धाू हुने गरेको उल्लेख गरिएको छ — कारण, त्यहाँ मासिक लाखौंको ‘कमाइ’ हुन्छ।
स्थानीय स्रोतहरू अनुसार यादवलाई कसले के सामान कहिले ल्याउँछ भन्ने सबै विवरण थाहा हुन्छ। तिनै आधारमा उनी असुलीको मुख्य ‘सञ्चालक’ बनेका छन्। यस्तो आरोप लागिरहँदा पनि उत्कृष्टको सम्मान पाउनु प्रहरी संस्थामाथिको गम्भीर चुनौती हो, भन्दै एक प्रहरी अधिकृत भन्छन्, “सेटिङ मिलाउने पुरस्कृत हुने संस्कार बलियो बन्दै छ।”
तस्करी नियन्त्रणको जिम्मेवारी लिएका प्रहरी नै संरक्षणकर्ता बन्नु भनेको संविधान र जनताको विश्वासमाथिको धोका हो।
जब पत्रकारहरूले प्रहरी उपरीक्षक गिरी र निरीक्षक दर्लाकोटीसँग सोधपुछ गर्न खोजे, उनीहरूले टिप्पणी दिन अस्वीकार गरे।
घटनाक्रम हेर्दा रौतहटमा तस्करी नियन्त्रणभन्दा संरक्षणको खेल चलिरहेको छ। प्रहरीको पुरस्कृत हुने आधार निष्पक्षता होइन, घुमुवा सेटिङ हुन थालेको स्पष्ट संकेत यस घटनाले दिएको छ। साभार मधेश संचार



