वीरगंज। पर्सा सहित तराईका जिल्लाहरुमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै संनातनीहरुले करबाचौथ पर्व मनाएका छन् ।
तराईमा बसोबास गर्ने विवाहित नारी अर्थात संनातनीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको छ ।
संनातनीहरुले आइतबार दिनभरि उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको वीरगंज महानगर वडा नम्बर १५ की व्रतालु देव कलीया देवीले बताउनुभयो ।
यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घ आयुको कामना गर्ने चलन रहेको वीरगंज १५ की व्रतालु रानी साहले बताउनुभयो । यस पर्वमा संनातनीहरु राति रङ्गीचङ्गी नयाँ नयाँ बस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमाको दर्शन गर्छन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चाल्नामा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन र पूजा अर्चना गर्ने वीरगंज–१५ कै अर्का व्रतालु महिला अनु साहले बतनाउनुभयो ।
करबाचौथ पर्व मधेसको बारा, पर्सा, महोत्तरी, रौतहट,धनुषा, सर्लाही, सिरहा, सप्तरी, मोरङ र भारतको बिहार राज्यको मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।



