वीरगञ्ज । वीरगञ्जमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि वीरगञ्ज महानगरपालिकाले हात पारेको छ ।
नारायणी रंगशालामा बिहीबार र शुक्रबार भएको प्रतियोगितामा सबैभन्दा धेरै ३३ स्वर्ण पदक हात पार्दै वीरगञ्जले उपाधि हात पारेको हो ।
महानगरले एथलेटिक्स तर्फ १६, तेक्वान्दोमा र सितोरियो करातेमा ६÷६ वटा स्वर्ण पदक हात पारेको हो । यस्तै कबड्डिमा महिला पुरुष गरि २ स्वर्ण हात पारेको महानगरले भलिबमा भने महिलातर्फ १ वटा स्वर्ण पदक हात पार्दै उपाधिमा वर्चश्व कायम राखेको हो ।
विभिन्न विधा गरेर ४४ वटा इभेन्टमा प्रतियोगिता भएकोमा महानगरले मात्रै ३३ वटा स्वर्ण जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका विजय शाह ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ठोरी गाउँपालिका १० स्वर्ण जित्दै दोस्रो भएको छ भने बहुदरमाई नगरपालिका १ स्वर्णमै सिमित भएको छ ।
१४ वटा पालिका रहेकोमा प्रतियोगितामा ४ वटा पालिकाले मात्रै सहभागिता जनाएका थिए । प्रतियोगितामा महानगरका विभिन्न विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका थिए ।