वीरगंज । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा जीवन ज्योति मावि विजयी भएको छ । शुक्रबार बिहान अल्पाईन स्कुललाई २० रनले पराजित गर्दै जीवन ज्योति विजयी भएको हो ।
टस जितेर अल्पाईनले बलिङ रोजेपछि जीवन ज्योतिले पहिला ब्याटिङ गरको थियो । १५ ओभर खेलेर ४ विकेटको क्षतिमा जीवन ज्योतिले १ सय ३८ रन बनाएको थियो । १ सय ३९ रनको लक्ष्य पछ्याएको अल्पाईन १४ ओभर एक बलमा १ सय १८ रनमै अलआउट भएको थियो ।
यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा सिदार्थ माविलाई ९५ रनले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर सिदार्थले बलिङ रोजेपछि ब्याटिङ गरेको आदर्श माविले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ७० बनाएको थियो ।
सिदार्थ १ सय ७१ रनको जवाफी लक्ष्य सहित ब्याटिङमा उत्रिएको थियो । उसले १५ ओभर खेल्दा ८ विकेटको क्षतिमा ७५ रन मात्रै जोड्न सक्यो । २६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन तथा ३ विकेट लिन सफल भएका आदर्शका क्रिस श्रीवास्ताव म्यान अफ दी म्याच घोषित भए ।
टि–२० क्रिकेट प्रतियोगिता भएपनि दैनिक तीन वटा खेल सञ्चालन गर्नुपर्ने भएकोले क्वाटरफाईनलसम्म १५ ओभरको खेल खेलाईने प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगंजका २५ वटा विद्यालयले सहभागी जनाएका छन् । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।