वीरगञ्ज,२५ पुष । भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना नेपाली यात्रुको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशको उन्नाउमा बस दुर्घटना हुँदा तीन जना नेपाली यात्रुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
जोशीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका–१, ज्योतिनगरका ४० वर्षीय ललित साउद तथा व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउदको सनाखत भएको छ भने एक महिलाको पहिचान खुलेको छैन ।
बस दुर्घटनामा एक जना भारतीय नागरिकको पनि निधन भएको छ । अन्य १७ जना घाइते यात्रुको भारतमा उपचार भइरहेको बताइन्छ ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस सोमबार बिहान करिव चार बजेको समयमा दुर्घटना परेको बताइएको छ ।
बाक्लो कुहिरोका कारण बसका चालकले अगाडिको अर्को सवारी साधनलाई ठक्कर दिएपछि यो दुर्घटना हुन पुगेको स्थानिय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।