वीरगञ्ज, १४ माघ । बाराको पथलैया पुगेको भगवान रामको जन्मभूमि अयोध्यामा निर्माण हुनलागेको राम मन्दिरमा बन्ने राम मूर्तिका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदिको शिलाको पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले क्षमापूजा गरेका छन् ।
म्याग्दी जिल्लाको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको करोडौँ वर्ष पूरानो शिला नेपालको विभिन्न शहर हुँदै जनकपुर जाने क्रममा पथलैया पुगेको बेला पूर्वमन्त्री यादवले शिलाको क्षमापूजा र गङ्गा पूजन गरेका हुन् ।
क्षमापूजाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य लगायत पनि पुगेका थिए ।
शिलाको पूजा गर्दै पूर्वमन्त्री यादवले परापूर्वक कालदेखि नेपाल र भारतसँगको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताउँदै भने, ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा यो सम्बन्ध थप प्रगाढ हुन्छ र नेपालको कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।’।