वीरगञ्ज, ३० भदौ । नेपाल फोटो पत्रकार महासंघ मधेश प्रदेशका,पर्सा र बाराका फोटो पत्रकार सम्मानित भएका छन् । चितवनको सौराहामा बिहिवारदेखि शुरु भएको नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनका अवसरमा फोटो पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, पूर्व अध्यक्ष राम कुमार सर्राफ पर्सा जिल्लाका निवर्तमान अध्यक्ष बिजय चौहान रबारा जिल्लाका अध्यक्ष दिवाकर भण्डारी रहेका छन् ।
लामो समयसम्म फोटो पत्रकारितामार्फत संघ र समाजलाई दिएको योगदानको कदर गर्दै पर्सा र बाराका पत्रकार लगायत अन्य जिल्लाका फोटो पत्रकारलाई सम्मानित गरिएको महासंघले जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका सर्राफलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
नेपाल फोटो पत्रकार महासंघका महासचिव हरी रेग्मीले सात जनाबाट संघलाई सुरुआत गरेको सम्झिदै नेपालमा फोटो पत्रकारिताको इतिहास पुरानो नभएपनि २०५१ साल देखि विधिवत रुपमा सुरुआत गरेको चर्चा गरे । साधै महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरु सहित अतिथिहरु प्रति धन्यवाद ज्ञापन गरे ।
महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव सृजना अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल फोटो पत्रकार महासंघका सातै प्रदेशका अध्यक्षहरुले महाधिवेशनको शुभकामना दिए । आज विहान प्रभात फेरि समेत निकालिएको थियो ।