वीरगञ्ज, २७ जेठ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा रहेका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ ।
वास्तविक कृषकको पहिचान नहुँदा सेवा प्रवाह गर्न कठिनाई हुनुका साथै कृषकका नाममा गैह्र कृषकले फाइदा लिइरहेको भेटिएकाले त्यसलाई नियन्त्रण गर्न महानगरले अभियान चलाउन लागेको हो ।
महानगर प्रमुख राजेशमान सिंहले कृषकलाई विभिन्न सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उनीहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिन कृषक पहिचान आवश्यक भएकाले अभियान चलाउन लागिएको बताउनु भयो ।
पहिलो चरणमा महानगरको वडा नम्बर १६, १७, २७, ३० र ३२ गरि ५ वटा वडामा वास्तविक कृषकको तथांक संकलन गर्ने महानगरले तयारी गरेको हो ।
यी वडामा सबैभन्दा बढी कृषि योग्य जमिन हुनुका साथै कृषिमा आत्मनिर्भर हुनेको संख्या पनि बढी रहेकाले पहिलो चरणमा यही ५ वटा वडाबाट वास्तविक कृषक पहिचानका लागि टोली खटाउने तयारी गरिएको महानगरको कृषि विकास अधिकृत रोशनी यादबले जानकारी दिनुभयो ।
कृषक पहिचानको लगत आएपछि कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम गैह्र कृषले लैजाने प्रचलन पूर्ण रुपमा नियन्रणमा आउने र यसले वास्तविक कृषकलाई फाइदा पुग्ने यादबले बताउनु भयो ।
वास्तविक कृषक पहिचानका लागि महानगरले स्वयंसेवक भर्ना गरेर उनीहरुलाई प्रशिक्षण समेत दिइसकेको छ ।
शनिबार कृषि ज्ञान केन्द्र बाराका प्रमुख रामजीवन ठाकुरले स्वयंसेवकहरुलाई कृषक गणनाका लागि आवश्यक सूचक तथा बिधीहरुका बारेमा प्रशिक्षण दिनुभएको हो ।
प्रशिक्षण लिएका स्वयंसेवकहरुले सम्बन्धित कृषकको घरघरमा पुगेर मोबाइलमा रहेको एप्लिकेशनबाटै डिजिटल रुपमा तथ्याकं प्रविष्ट गर्नुपर्ने छ ।
महानगरले आइतबारबाटै सम्बन्धित वडाहरुमा तथ्यांक संकलनका लागि स्वयंसेवकहरुलाई खटाउन शनिबार प्रशिक्षण दिइएको हो ।