वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएका खाद्यान्न तथा कपडा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट प्रहरीले ११ लाख ६६ हजार ७ सय ९० रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा कपडा बरामद गरेको हो ।
भिस्वास्थित एक पक्की घरमा कोठा भाडामा लिई भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यान्न सामग्री भण्डारण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले कोठाको खानतलासी गरेको हो ।
स्थानीय जनप्रतिनीधिको रोहबरमा गरिएको खानतलासीका क्रममा प्रहरीले ४ सय किलोग्राम काजु, २ हजार २५७ मीटर सर्टको थान कपडा, ७२ किलोग्राम ल्वाङ्ग, ४६ प्याकेट हुक्काको फ्लेवर र १४७ किलोग्राम खुल्ला पापड बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
गिरीकाअनुसार बरामद सामग्रीलाई थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।