वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको एउटा भारतीय पिकअप नियन्त्रणमा लिएको छ ।
प्रहरीले मङ्गलबार साँझ खुद्रा सामग्री र लत्ताकपडा लोड गरेर शुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट वीरगञ्ज बजार तर्फ आइरहेको बिआर ०५ जिसि ३०१७ नम्बरको भारतीय पिकअपलाई नियन्त्रणमा लिएको हो । ट्रकमा बिल विजकभन्दा बढी मूल्य बराबरको सामग्री लोड रहेको प्रहरीको दावी छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीकाअनुसार विशेष सूचनाको आधारमा ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएकाले ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रित पिकअप र बरामद सामानको प्रहरीले १७ लाख ३९ हजार ४ सय ४८ रुपैयाँ मूल्याङ्कन कायम गर्दै थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए ।