वीरगञ्ज । गर्मीबाट थकित बटुवालाई वटवृक्षको शीतल छहारीमा आराम गरेको देख्नु सामान्य हो । तर जेठको प्रचण्ड गर्मीमा वट वृक्षलाई नै शीतलता प्रदान गर्न हाथे पंखा चलाइएको दृश्य नगरीमा मात्रै देख्न पाइन्छ ।
जेठ कृष्णपक्षको अमावश्याको दिन यहाँका महिलाहरुले मनाउने ‘वट सावित्री’ पर्वको क्रममा मंगलबार यस्तो दृश्य पर्साभर देखियो ।
रंगीचंगी पहिरनमा सजिएका पर्साको महिलाहरू जेठ अमावश्याको दिन वटवृक्षको वरिपरि रातो, पहेँलो धागाले घेरा हाल्छन् । साथै सविधि पूजा पाठ गर्छन्, वटवृक्षलाई गर्मीबाट जोगाउन हाथे पंखा चलाइन्छ । अनि ज्यानलाई आराम होस् भनेर वृक्षको रेखदेर गर्छन् । वटवृक्षलाई आफ्नै श्रीमानको बिम्बको रुपमा महिलाहरू यस पर्वको अवसरमा स्याहार गर्छन् ।
पर्साको पवित्र पर्व मानिने ‘वट सावित्री’को दिन यहाँ वटवृक्षलाई श्रीमानको जस्तै सेवा गर्ने चलन छ । जेठ अमावश्याको दिन बिहानैदेखि जिल्ला भरका वटवृक्षमुनि व्रतालु महिलाहरुको भीड लागेको थियो । यस अवसरमा आँप, केरा, अनारजस्ता मौसमी फलफुल बोकेर महिलाहरुले वटवृक्षलाई सविधि पूजापाठ गरेका छन् ।
रुखमुनि महिलाहरुको अलि बाक्लै जमघट थियो । व्रत बस्नुभन्दा एक दिनअघि चोखो खाना खाई अमावश्याको बिहानैदेखि उपवास बसेका व्रतालुहरु वटवृक्षलाई पूजा गरेपछि मात्र खाना र जल ग्रहण गर्छन् ।
पर्साको बिरगंज , पोखरिया , बिन्दबासिनी , पकाहा मैनपुर सहितका पवित्र सरोवरहरुको डिलमा रहेका वडको रुखमुनि ब्रतालुहरुको उल्लेख्य जमघट थियो । ग्रामीण क्षेत्रमा समेत उत्साहका साथ वटसावित्री पर्व मनाइएको छ ।
पतिको दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै मनाइने यस पर्वमा नवविवाहिताहरुको उत्साहजनक सहभागिता हुन्छ । वटवृक्षलाई भोजपुरी भाषामा ‘बर्गजको गाछ’ पनि भनिन्छ ।
धर्मशास्त्रहरुमा वर्णन भएअनुसार सावित्रीले आफ्नो मृत्य पति सत्यवानको पुनर्जीवनका लागि वटवृक्षकै फेदमा पूजा गरेकी थिइन् । वटवृक्षको पूजापछि सत्यवानले पुनर्जीवन प्राप्त गरेका थिए । गृहणी ममता मिश्र यस पर्वलाई प्रकृति पूजनको पर्वको संज्ञा दिन्छिन् ।
आधुनिकताको प्रवेशसँगै केही पारम्परिक पर्व त्यौहार लोप हुने अवस्थामा पुगे पनि यस पर्वप्रतिको आकर्षण भने दिनदिनै बढ्दै गएको छ । पहिले ब्राह्मण, कायस्थ तथा सोनार जातिका महिलाहरु मात्र सहभागी हुने यस पर्वमा अचेल सबै जातिका महिलाहरु सहभागी हुन थालेका छन् ।
‘अन्य जातिका महिलाहरु पर्वमा सहभागी हुनु, खुसीको खबर हो । श्रीमानको दीर्घ जीवनको कामना गरेर मनाइने पर्वमा जातिपातिको प्रश्न उठाउनु उचित पनि होइन ।