वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत (निजि) विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
शुक्रबार एउटा सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभिन्न समयमा विद्यालय सञ्चालन हुँदा एकरुपता नआएको भन्दै महानगरले आगामी जेठ १ गते सोमबारको दिनदेखि विद्यालयहरुलाई बिहानी कक्षा सुरु गर्न निर्देशन दिएको छ ।
‘यस महानगरपालिकास्थित केहि सामुदायिक विद्यालयहरुले विहान र केही विद्यालयहरुले दिउँसो विद्यालय सञ्चालन गरिरहेको र सो अनुसार एकरुपता नभएकोले मिति २०८० जथ १ गते सोमवारदेखि सवै सामुदायिक विद्यालयहरुमा विहान ६ बजेदेखि पठनपाठन सञ्चालन गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा लेखिएको छ ।
त्यस्तै हाल कक्षा १२ को परिक्षा चलिरहेका कारण केही विद्यालयका परिक्षा केन्द्र तोकिएको हुँदा ती विद्यालयलाई परिक्षा अवधिको लागि मात्र हुने गरी अनुकुल समयमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।