वीरगञ्ज । मानव अधिकारकर्मीहरू बिहीबार वीरगञ्जस्थित बाल सुधार गृहको अनुगमन गरेका छन् । इन्सेक प्रतिनिधिसहितको मानव अधिकारकर्मीहरूको टोलीले सुधार गृहको अनुगमन गरेको हो ।
बाल सुधार गृहको स्थलगत अवलोकनबाट मापदण्ड बमोजिम सुधार गृह सञ्चालन नभएको भेटिएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताए । उनले सुधार गृहको क्षमता भन्दा दोब्बर सङ्ख्यामा बालबालिकाहरू राख्दा समस्या हुने गरेको बताए । १०/११ को साँघुरो कोठामा १४ देखि १५ जनासम्म बालकैदीहरू बस्नु पर्ने बाध्यता रहेको संयोजक भण्डारीले बताए ।
६० जना बस्ने क्षमता भएको सुधार गृहमा हाल एक सय २६ जना बालकैदी बस्दै आएका छन् । एउटा कोठामा खाट माथि खाट राखेर बालकैदी बस्न बाध्य छन् ।
त्यस्तै बालकैदीहरू पढ्न पाउनु पर्ने अधिकारबाट पनि वञ्चित भएको, खेलकुद सम्बन्धी गतिविधि नहुने गरेको, खानेपानी लगायतको समस्या देखिएकोले सम्बन्धित निकायमा समस्या समाधानको लागि पहल गर्ने संयोजक भण्डारीले आश्वासन दिए ।
अवलोकनको क्रममा सुधार गृहमा देखिएको समस्या प्रतिवेदन मार्फत पेस गरिने मानव अधिकार आयोग हेटौँडाका मानव अधिकार अधिकृत कृष्ण मिश्रले बताए । उनले सुधार गृहमा मानव अधिकार तथा बाल अधिकारको पूर्ण पालना हुनु पर्ने बताउँदै त्यस्तो नदेखिएकोले सम्बन्धित निकायमा समाधानको लागि पहल गर्नु पर्ने आश्वासन समेत दिए ।
सुधार गृहका वार्डेन कृष्ण प्रसाद साह गोढले गृहमा थप सुविधा आवश्यक रहेको बताए । उनले खेल मैदान सहितको प्रयाप्त भवन भएको सुधार गृहको आवश्यकता औँल्याए । “यसका साथै १८ वर्षमाथिको बालबालिकाहरू अन्यत्र व्यवस्थापन गर्ने हो भने बाल सुधार गृहमा धेरै जसो समस्या समाधान हुने छ,” उनले भने ।
अनुगमन टोलीमा मानव अधिकार आयोग हेटौँडाका मानव अधिकार अधिकृत लक्ष्मी पौडेल, सिविन मकवानपुर व्यवस्थापनका प्रमुख झविन्द्र ज्ञवाली, पत्रकार शम्भु कुमार सुमन, बाल सुधार गृह वीरगञ्जका प्रहरी सहायक निरीक्षक देवेन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले भदौ २६ गते सुधार गृहमा भएको घटनाको बारे समेत जानकारी लिएको थियो । सुधार गृहको अवलोकन पछि टोलीले घटना बारे पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग पनि छलफल गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मै पुगेर टोलीले प्रमुख जिल्ला अधिकारी रेग्मीसँग घटना बारे बुझ्नुको साथै समस्या समाधान गर्नका निमित्त भइरहेको प्रयासका बारेमा छलफल गरेको थियो ।
त्यस्तै टोलीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापासँग पनि भेटघाट गरेको थियो । सो क्रममा टोलीले सुधार गृहमा भएको झडप र विवादको विषयमा जानकारी लिएको थियो ।
भदौ २६ गते भक्तपुर बाल सुधार गृहबाट वीरगञ्जस्थित बाल सुधार गृहमा आएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । सभार : यात्रा डेली



