वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीमा प्रभु सिटी स्क्यान सर्भिस सेन्टर सञ्चालनमा आएको छ । डा. निरञ्जन साह, डा. डम्बर साह र डा. मनोज कुमारले संयुक्त रूपमा सिटी स्क्यान सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
वीरगञ्जको बसपार्क क्षेत्र तथा लिङ्क रोड, पानीट्याङ्की, घण्टाघर आसपासका क्षेत्रमा कतै पनि सिटी स्क्यान सेवा नहुँदा बिरामीहरूलाई पायक पर्ने गरी पानीट्याङ्की रोडमै सिटी स्क्यान सेवा सुचारु गरिएको सञ्चालक डा. डम्बर साहले बताए । एक दशकभन्दा लामो समयदेखिको अनुभव बटुलेका रेडियोलोजिस्टसमेत रहेका डा. साहका अनुसार करिब ४ करोडको लगानीमा सिटी स्क्यान सेवा सुचारु गरिएको हो ।
प्रभु सिटी स्क्यान सर्भिस सेन्टरको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानु, वडा नम्बर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । वडाका बिरामीहरूलाई सिटी स्क्यानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको वडा नम्बर ८ का वडाध्यक्ष रितेश गुप्ताको भनाई थियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानुले वीरगञ्जमै अत्याधुनिक सेवा तथा सुविधासहितका स्वास्थ्य संस्थाहरू खुल्नु खुसीको कुरा भएको बताए । स्वास्थ्यको क्षेत्रमा नजिकको तीर्थ हेला भने जस्तै बाहिरकोलाई विश्वास गर्ने र आफ्नै गाउँ, ठाउँमा भएका स्वास्थ्य संस्थाप्रति विश्वास नगर्ने प्रकृतिप्रति आपत्ति जनाउँदै उनले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराएर समय र पैसाको बचत गर्न आग्रह गरेका छन् ।
सिटी स्क्यान सर्भिस सेन्टरमा होल बडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड सम्पूर्ण सेवा उपलब्ध हुने डाक्टर निरञ्जन साहले जानकारी दिए । सिटी स्क्यान सेन्टरमा विभिन्न रोगहरू पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा सुविधा उपलब्ध हुने डाक्टर साहको भनाई छ । निकट भविष्यमै थ्रि डी, फोर डी अल्ट्रासाउण्ड लगायतका सेवा बिस्तार गर्ने योजना रहेको सञ्चालक डा. मनोज कुमारले बताए ।
प्रभु सिटी स्क्यान सर्भिस सेन्टरको उद्घाटनका अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ की वडा सदस्य अनिता क्षेत्री, समाजसेवी शम्भु गुप्ता, नेता नेजामुद्दीन समानी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, प्रभु बैङ्क मधेस प्रदेशका प्रमुख भूषण गुप्ता, वीरगञ्जको लिङ्क रोडस्थित प्रभु बैङ्कका शाखा प्रबन्धक अमन बोगटी, सामुदायिक सेवा केन्द्र मिना बजारका अध्यक्ष वासुदेव सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, युवा अभियन्ता दिलीपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।



