वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट आइतवार मात्रै १ सय २१ जनाले नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को कार्यन्वयनको क्रममा जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानमध्ये १ सय २१ ज्नाले बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
लामो समयदेखि अड्किएको विद्येयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै कार्यन्वयनमा जाने भनिएपनि अदालतमा मुद्दा पर्दा नागरिकता बिहिनहरु निराश बनेका थिए । अल्पकालिन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त विद्येयक कार्यन्वयनमा आएको हो ।
आइतवारदेखि नयाँ विद्येयकअनुरुप नागरिकता वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता बिहिनहरुको भिड बढेको छ । नागरिकता लिनेहरुको भिड बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले अनलाईन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उनकाअनुसार सेवाग्राहीहरुलाई कार्यालयमै आएर लाईन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि यो सेवा सुरु गरिएको हो । अनलाईनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको दिनमा आएर सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । जिल्ला प्रशासन कार्यालय पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सकिन्छ ।