वीरगञ्ज, ८ असार । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभभा सदस्य (सांसद्) प्रदीप यादवले आफू सत्तारुढ दलको सांसद् भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा जसपाको प्रमुख सचेतकसमेत रहेका यादवले जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए ।
निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रसङ्ग झिक्दै पूर्व वनमन्त्रीसमेत रहेका यादवले भने, ‘सरकारले वास्तवमै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन, यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ ।’
आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै यादवले भने, ‘१२ करोड १० लाख बजेटले विमानस्थल बन्छ त ? नबनाउने नियत नै हो भने यति थोरै रकम विनियोजन गरेर नाटक किन गरेको सरकारले ? यसतर्फ म नागरिक उड्ययन तथा पर्यटनमन्त्रिको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद् यादवले वीरगञ्ज कारागार सुधारगृह नभई यातना गृह भएको टिप्पणीपनि गरे । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगञ्ज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोर्याए । यादवले भने, ‘यस बारे सदनमा मैले यसअघिपनि सरकारको ध्यानाकर्षण गराइएको थियो । तर नयाँ बजेटमा वीरगञ्ज कारागारको स्तरोन्नत्ती बारे एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगञ्जसँगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दु:खद भएको यादवले बताए ।
हालै चीनको भ्रमण गरेर फर्किएका जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादवले चीनसँग जोडिएको नेपालको सीमामा नेपाली सुरक्षाकर्मीको पोष्ट खाली रहेको अवस्थामा भेटिएको बताए । उनले भने, ‘हालै चीन भ्रमणमा हामी सांसद्हरुको टोली गएका थियौं । हुम्लाको हिल्सा नाकामा पुग्दा त्यहाको पोष्ट खाली थियो, एकजनापनि प्रहरी थिएनन् । संवेदनशील नाकामा यस्तो चरम लापरवाही किन ? भन्दै उनले गृहमन्त्रीसँग प्रश्न गरे ।
यादवले चीनका नाकामा खटिएका नेपाली सुरक्षाकर्मीहरुको सेवासुविधा र बन्दोवस्तीमा सरकारले ध्यान नदिएका कारण त्यहाका नेपाली प्रहरीहरु अत्याधिक चिसोले पोष्ट छाडेर अन्तै गएर बस्ने गरेको अवस्था पाइएको यादवले बताए ।