वीरगञ्ज । भारतबाट तस्करी गरि ल्याइएको मोबाइल र घडी ठूलो परिमाणसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ वदननगरस्थित एक घरत्राट १९ लाख रुपैया मुल्य बराबरको मोबाइल र घडीसहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अमवा विसुनपुरका ३३ वर्षिय मनोज कुमारलाई पक्राउ गरेको हो ।
वदननगरका मनोज साहको घरमा डेरा लिई बस्दै आएका भारतीय नागरिक मनोज कुमारको कोठामा प्रहरीले खानतलाशी गर्दा विभिन्न ब्राण्डका ५९ थान मोबाइल र १८५ पिस घडी बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
मनोज कुमारको कोठामा खानतलाशी गर्र्दा एप्पल, सामसुङ, भिभो , रेडमी लगायतका ब्राण्डका महङगा मुल्यका मोबाइल तथा टाइटन, सोनाटा लगायतका कम्पनिका घडीहरु बरामद भएको गिरिले बताए ।
पक्राउ परेका मनोज कुमारले भारतबाट राजश्व छलेर महङगा मुल्यका मोबाइल र घडीहरु वीरगञ्ज ल्याइ डेराको कोठामा भण्डारण गरि नेपादको विभिन्न शहरमा आपुर्ति गर्दै आएको सुचनाका आधारमा शनिबार प्रहीले उनको कोठामा छापा मारेको प्रहरी नायब उपरीक्षक गिरिले बताए ।
बरामद मोबाइल र घडीको बजार मुल्य १९ लाख १४ हजार रुपैयाँ मुल्यांकन गरिएकोपनि गिरिले जानकारी दिए । मोबाइल र घडीसहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारबाहीको लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरिले बताए ।