मधेश प्रदेशमै सबैभन्दा कम बेरुजु भएको दाबी गरिएको परवानीपुर गाउँपालिकामा चाडपर्व लक्षित सडकबत्ती एक महिनासमेत टिकेनन्, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको आरोप
बारा । मधेश प्रदेशमै सबैभन्दा कम बेरुजु भएको पालिकाको पहिचान बनाएको परवानीपुर गाउँपालिकामा सडकबत्ती जडान गरिएको २५ दिन नबित्दै बिग्रिन थालेपछि सार्वजनिक खरिदको गुणस्तरमाथि प्रश्न उठेको छ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गाउँपालिकाका विभिन्न वडामा उज्यालोको व्यवस्था गर्ने उद्देश्यले जडान गरिएका विद्युतीय सडकबत्ती छोटो समयमै फ्युज हुन थालेका हुन्।
विशेषगरी परवानीपुर गाउँपालिका–५ अन्तर्गत बहुअरीको कोठी टोलमा जडान गरिएका नयाँ सडकबत्तीको अवस्था दयनीय बनेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार, यसअघि सञ्चालनमा रहेका पुराना विद्युतीय चिम हटाएर नयाँ एलईडी स्ट्रिट लाइट जडान गरिएको थियो। तर, जडान गरिएको २५ दिन नबित्दै बत्तीहरू धमाधम फ्युज हुन थालेपछि टोलका सडक पुनः अन्धकारमय बनेका छन्।
स्थानीयले वर्षमा एकपटक सार्वजनिक बजेटबाट जडान गरिने सडकबत्तीसमेत गुणस्तरीय नहुँदा सरकारी खर्चको उपलब्धिमाथि प्रश्न उठाएका छन्। चाडपर्वमा गाउँलाई उज्यालो बनाउने उद्देश्यले गरिएको खर्चको परिणाम एक महिनासमेत टिक्न नसक्नुले सामग्रीको गुणस्तर र खरिद प्रक्रियाबारे चासो बढाएको छ।
यस विषयमा परवानीपुर गाउँपालिकाका सूचना अधिकारी रवि जैसवालले गाउँपालिकाले सम्बन्धित वडालाई विद्युतीय सामग्री उपलब्ध गराएको बताएका छन्। उनले भने, “हामीले वडालाई सामग्री दिएका छौँ। बत्ती किन बिग्रिएको हो भन्ने विषयमा वडासँग बुझेर जानकारी लिन्छु।”
सूचना अधिकारी जैसवालका अनुसार गाउँपालिकाले पर्सास्थित आयुष सप्लायर्स प्रा।लि।सँग कुल ७ लाख ५ हजार ५८० रुपैयाँ बराबरको विद्युतीय सामग्री खरिद गरेको हो।
खरिद गरिएका सामग्रीमध्ये १८ वाटका १ हजार ५५० थान एलईडी बल्बका लागि मात्रै ४ लाख ९६ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, १ हजार ४०० थान बल्ब होल्डरका लागि ५१ हजार ८०० रुपैयाँ, १ हजार ४०० थान हेभी स्विचका लागि ४२ हजार रुपैयाँ तथा अन्य विद्युतीय सामग्रीका लागि बाँकी रकम खर्च गरिएको सूचना अधिकारीले जानकारी दिएका छन्।
जैसवालका अनुसार खरिद गरिएका १८ वाटका एलईडी बल्बमा मात्र एक वर्षको वारेन्टी रहेको छ। तर, जडान गरिएको २५ दिन नबित्दै बल्बहरू फ्युज हुन थालेपछि वारेन्टी हुँदाहुँदै पनि सडकबत्ती बिग्रिने अवस्था किन आयो भन्ने प्रश्न उठेको छ। बिग्रिएका बल्ब वारेन्टीअन्तर्गत प्रतिस्थापन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा भने गाउँपालिकाले स्पष्ट जानकारी दिन बाँकी छ।
स्थानीयले बिग्रिएका बत्ती तत्काल प्रतिस्थापन गर्न, खरिद गरिएका सामग्रीको गुणस्तर परीक्षण गर्न तथा सार्वजनिक बजेटको सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


