वीरगञ्ज। मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन भारतको लखनऊ प्रस्थान गरेको छ। भारतको लखनऊस्थित सिटी मोन्टेसरी स्कुल ९सीएमएस० को आयोजनामा हुन लागेको ‘कन्कोर्ड २०२६’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन विद्यार्थी खेलाडी तथा प्रशिक्षकसहितको टोली शनिबार भारत प्रस्थान गरेको हो।
प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका, ओमानलगायत विभिन्न देशका साथै भारतका दार्जिलिङ, सिक्किमलगायत विभिन्न सहरका विद्यालयबाट १८ वर्षमुनिका ९अन्डर–१८० विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउने मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलका निर्देशक सुलभ केसीले जानकारी दिए।
निर्देशक केसीका अनुसार लखनऊस्थित सिटी मोन्टेसरी स्कुलले आयोजना गर्न लागेको ‘कन्कोर्ड २०२६’ प्रतियोगिता पाँचौँ संस्करण हो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मधेश प्रदेशबाट आफ्नो विद्यालयको टोलीले सहभागिता जनाउन पाउनु गौरवको विषय भएको उनले बताए।
मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिँदै आएको छ। विद्यालयका विद्यार्थीहरूले यसअघि अन्तर्राष्ट्रिय स्तरका चेस, फुटबल तथा कराते प्रतियोगितामा सहभागिता जनाउँदै विभिन्न उपलब्धि हासिल गरिसकेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयले खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। ‘कन्कोर्ड २०२६’ मा सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने, अनुभव आदानप्रदान गर्ने र आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
भारत प्रस्थान गर्नुअघि विद्यालयका संस्थापक श्याम केसीले विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरूलाई एक–एक थान ट्र्याकसुट प्रदान गर्दै खादा र टीका लगाएर बिदाइ गरेका थिए। सो अवसरमा उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय, वीरगञ्ज, मधेश प्रदेश तथा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरूलाई शुभकामना दिएका थिए।
मधेश प्रदेशबाट पहिलोपटक यस प्रकारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै २२ सदस्यीय टोली सहभागी हुन लागेकाले विद्यालय परिवार तथा अभिभावकहरूमा उत्साह थपिएको छ। प्रतियोगितामा सहभागिताले विद्यार्थी खेलाडीहरूको अनुभव, आत्मविश्वास र खेल कौशल अभिवृद्धिमा समेत योगदान पुर्याउने विश्वास विद्यालयले लिएको छ।


