प्रणय साह ,पर्सा । केही दिनयता परेको भारी वर्षाका कारण पर्साको बहुदरमाई नगरपालिकाका तरकारी खेती गर्ने किसान समस्यामा परेका छन्। वडा नम्बर ५ को भौराटार र वडा नम्बर ६ को गम्हरियामा वर्षाले तरकारी तथा धानबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्।
भौराटारका किसान रामजन्म प्रसाद यादवले पाँच कठ्ठा जग्गामा कोभी खेती गर्न ८५ हजार रुपैयाँ लगानी गरिसकेका छन्। तर, वर्षापछि कोभीमा रोग देखिन थालेपछि लगानी डुब्ने चिन्ता बढेको उनले बताए। कृषि क्षेत्रमा क्षति पुग्दा पनि स्थानीय सरकारको प्रभावकारी भूमिका नदेखिएको उनको गुनासो छ।
भौराटारकै अर्का किसान रामरेखा साहका अनुसार वर्षाले लौका, बोडी र कोभी खेतीमा क्षति पुर्याएको छ। कृषि विषयमा केही जानकारी भए पनि यसपटकको वर्षाबाट बाली जोगाउन नसकेको उनले बताए।
यस्तै, बहुदरमाई नगरपालिका–६ गम्हरियाका किसान रविन्द्र प्रसाद कुशवाहाले वर्षाले तरकारीसँगै धानबालीमा समेत असर पारेको बताए। उनका अनुसार कोभी, भिन्डी र सागलगायतका तरकारीमा क्षति पुगेको छ। भर्खरै फूल लाग्न थालेको धानबालीमा समेत वर्षाको पानीले असर गरेको उनले बताए।
गम्हरियाकै किसान मुकेश प्रसाद कुशवाहाका अनुसार वर्षाले कोभीलगायतका तरकारीमा क्षति पुर्याउनुका साथै रोपाइँका लागि तयार पारिएका अन्य तरकारीका बेर्नासमेत नष्ट गरेको छ। खेत तयार पार्नसमेत समस्या भएको र प्रतिकठ्ठा २५ हजार रुपैयाँ बराबरको लगानी जोखिममा परेको उनले बताए।
तरकारी खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका किसानका लागि वर्षाले थप आर्थिक चुनौती सिर्जना गरेको छ। बालीमा क्षति पुग्नुका साथै आगामी खेतीका लागि आवश्यक लगानी जुटाउनसमेत कठिन हुने किसानको चिन्ता छ।
यसैबीच, कृषि ज्ञान केन्द्र पर्साले प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर स्थलगत अनुगमन गर्ने जनाएको छ। केन्द्रका कृषि अर्थविज्ञ सातौँ तहका सन्दीप ठाकुरका अनुसार प्राविधिक टोलीले बालीमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै रोग नियन्त्रणका लागि आवश्यक परामर्श दिनेछ।
ठाकुरले क्षतिको विवरण संकलनपछि केन्द्रको नियमअनुसार प्रभावित किसानलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जानकारी दिए।


