वीरगञ्ज । पर्साका विभिन्न नाकाबाट भन्सार छली भित्र्याइएका १४ लाख ३६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान र दुईवटा ई–लोडर सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, नं। १३ गण पर्सा र सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले शुक्रबार वीरगञ्जका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको हो।
वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट सशस्त्र प्रहरी बल नं। १३ गणको टोलीले बिलबिजकबिना ल्याइँदै गरेका दुईवटा ई–लोडरसहित ती सवारीसाधनमा लोड गरिएका कपडा, भाँडाबर्तन, टमाटर तथा किराना सामान नियन्त्रणमा लिएको थियो।
बरामद गरिएका दुईवटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ र तिनमा लोड गरिएका सामानको मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ गरी कुल १३ लाख ३४ हजार ९४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको एक लाख एक हजार ६९० रुपैयाँ बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ।
दुवै स्थानबाट बरामद गरिएका सामान तथा ई–लोडर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ।


