वीरगन्ज — बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले दिएको परमादेशपछि जिल्ला प्रहरी कार्यालय बारामा गत असोज ६ गते मुद्दा दर्ता भएको हो। देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
‘उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता भएको हो। अनुसन्धान भइरहेको छ,’ एसपी कुँवरले भने, ‘यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भएको थियो। अहिले अदालतको आदेशअनुसार दर्ता भएको हो। पक्राउ पुर्जी भने जारी भएको छैन।’
महतोले देवताल गाउँपालिकामा सुपरभाइजरका रूपमा कार्यरत रहँदा आफूले गाउँमा भएका गलत गतिविधिको विरोध गरेको कारण सिंहसहितका व्यक्तिले आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरेको आरोप जाहेरीमा लगाएका छन्। उनका अनुसार २०८१ कात्तिक २७ गते त्यस्तो निर्णय गरिएको थियो।
महतोले गाउँपालिकामा करार सेवामा कार्यरत आफूलाई त्यससम्बन्धी उजुरी परेपछि सात दिन निलम्बन गरिएको समेत बताएका छन्।
जाहेरीमा आफू र परिवारका सदस्यलाई सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिने, सार्वजनिक तथा धार्मिक स्थलमा बहिष्कार गर्ने, अपमानजनक व्यवहार गर्ने तथा आफ्नो चरित्र र सामाजिक प्रतिष्ठामा असर पर्ने गरी प्रचारप्रसार गरिएको आरोप लगाइएको छ।
महतोले गाउँमा विकाससम्बन्धी काममा भइरहेको अवरोधको विरोध गर्दै काम अघि बढाउन पहल गरेपछि आफूविरुद्ध विभिन्न व्यक्तिलाई परिचालन गरी सामाजिक बहिष्कारको निर्णय गरिएको दाबी गरेका छन्।
जाहेरीमा सांसद सिंहसहित रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख छ।
महतोले आफूलाई ‘ठूलोबडा बन्न खोज्ने व्यक्ति’ भन्दै दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरिएको आरोपसमेत लगाएका छन्।
उनले विपक्षीहरूको गतिविधिका कारण आफ्नो तथा परिवारका सदस्यको सामाजिक प्रतिष्ठामा असर परेको र गाउँमा अपमान तथा अपहेलनाको सामना गर्नुपरेको दाबी गर्दै दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।
जाहेरीसँगै घटनासँग सम्बन्धित निर्णयको प्रतिलिपिसमेत प्रमाणका रूपमा संलग्न गरिएको छ। प्रहरीले आवश्यक अनुसन्धान तथा सरजमिन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने जनाएको छ।
सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट देवताल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरणपछि उनी रास्वपामा प्रवेश गरेका थिए। त्यसपछि बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।


