ललितपुर । नेपालमा पहिलोपटक मैथिली भाषाको गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ ग्रन्थको शुक्रबार ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको हलमा भव्य विमोचन गरिएको छ। प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता तथा लेखिका अर्चना झाको सभाध्यक्षतामा सम्पन्न समारोह श्री मानव सेवा फाउन्डेसनको संस्थापक श्री विजय कृष्णमूर्ति महाराजको आयोजना तथा मधेसी प्राध्यापक सङ्घ र हिन्दु सम्राट नेपालको सहयोगमा भएको हो।
करिब १ लाख २१ हजारभन्दा बढी शब्द र ६१३ पृष्ठमा तयार गरिएको ग्रन्थमा महाभारतका १८ वटै पर्व समेटिएका छन्। मैथिली लोकभाका तथा मिथिला चित्रकलासमेत समावेश गरिएको यस कृतिका प्रकाशक विनयकुमार झा र सम्पादक प्रेम नारायण झा हुनुहुन्छ।
विमोचन कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाभाषीका लागि यो ऐतिहासिक तथा उपयोगी ग्रन्थ भएको बताउँदै महाभारतजस्तो गहन ग्रन्थलाई सरल र सहज मैथिली गद्यमा प्रस्तुत गरेकोमा लेखिका अर्चना झालाई धन्यवाद दिनुभयो। आफूले पुस्तक ६१३ पन्ना भएकोमा करिब चार सयदेखि साढे चार सय पृष्ठ अध्ययन गरेको उल्लेख गर्दै उहाँले कठिन विषयवस्तुसमेत सहज रूपमा बुझिने गरी प्रस्तुत गरिएको बताउनुभयो। महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत लिइने उल्लेख गर्दै झाले यो ग्रन्थ मैथिली भाषाभाषीको घर–घरमा पुग्नुपर्ने धारणा राख्नुभयो।
श्री पशुपतिनाथ मन्दिरका मूलभट्ट (अर्चक) रावल गणेश भट्टले मैथिली भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्द्धनमा ग्रन्थले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै लेखिका झालाई धन्यवाद तथा शुभकामना दिनुभयो। महाभारत विश्वका महत्वपूर्ण तथा व्यापक रूपमा पढिने ग्रन्थमध्ये एक भएको उल्लेख गर्दै उहाँले मैथिलीमा प्रस्तुत गरिएको यस कृतिको अध्ययन गर्न सबैलाई आग्रह गर्नुभयो।
वरिष्ठ साहित्यकार, पत्रकार एवं लेखिका अर्चना झाले गहन अध्ययन, अनुसन्धान, मनन र साधनापछि महाभारतलाई आफ्नै शैलीमा सरल, सहज र पठनीय मैथिली गद्यमा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले यो कृति कुनै पुस्तकको हुबहु अनुवाद नभएको स्पष्ट पार्दै धर्म, कर्म, संस्कार, संस्कृति, सभ्यता, राजनीति, राज्यनीति, न्याय, कूटनीति र मानवीय जीवनमूल्यका विविध पक्ष समेटिएको जानकारी दिनुभयो। साथै श्रीमद्भगवद्गीताको आध्यात्मिक तथा दार्शनिक सन्देश र महाभारतका महिला पात्रहरूको संघर्ष, त्याग, शक्ति र योगदानलाई समेत विशेष स्थान दिइएको उहाँले बताउनुभयो।
लेखिका झाको भनाइमा, “यो ग्रन्थ केवल साहित्यिक कृति मात्र नभई भाषा, धर्म, कर्म, संस्कार, सभ्यता, धार्मिक स्थल, वातावरण, संस्कृति, राजनीति, न्याय, कुटनीतिज्ञ, नीति र मानवीय जीवनमूल्यको विराट संगम हो । महाभारतका पात्र, घटना र उपदेशमार्फत प्राचीन सभ्यताको गहिरो दर्शन तथा जीवनका शाश्वत सत्यलाई वर्तमान र भावी पुस्तासम्म आफ्नै धर्म संस्कृति र मातृभाषामा पुर्याउने उद्देश्यले यो महाग्रन्थ तयार पारिएको हो ।”
लेखिका झाले, “महाभारत विश्वका विभिन्न भाषामा उपलब्ध भए पनि मिथिलावासीले अधिकांश समय अनुवाद वा अन्य भाषामार्फत यसको अध्ययन गर्नुपर्ने अवस्था थियो । यो ग्रन्थ मेरो हैन सबै सनातनीको लागि हो । नेपाल राष्ट्रको लागि हो । यो ग्रन्थ सबै मैथिली भाषी प्रेमीको हाथमा पुगौस भन्ने धारणा राख्नुभयो ।”
उहाँले भन्नुभयो, “अब मैथिलीभाषी पाठकले महाभारतजस्तो विराट ग्रन्थ आफ्नै मातृभाषामा पढ्न, बुझ्न र मनन गर्न पाउने विश्वास लिइएको छु । यसबाट वर्तमान युवा पुस्ता तथा भावी सन्ततिले आफ्नो भाषा, धर्म, संस्कृति, इतिहास र जीवनदर्शन प्रति अझ गहिरो चिन्तन गर्न सक्ने अपेक्षा गरिएको छ ।”
झाले, “यस ग्रन्थमा विशेषगरी धर्म र कर्मको महत्त्व, राजनीतिक र राज्यनीति, न्याय र नीति, पारिवारिक संस्कार, कर्तव्य, सत्य र असत्यबीचको सङ्घर्ष लगायत जीवनका अनेकौँ पक्षलाई समेटिएको बताउनुभयो ।” “भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्य उपदेश, जसले श्रीमद्भगवद्गीताको अमर स्वरूप ग्रहण गरेको छ, त्यसको आध्यात्मिक, नैतिक र दार्शनिक महत्त्वलाई पनि विशेष स्थान दिइएको उहाँले जानकारी दिनुभयो ।”
त्यसैगरी महाभारतका रचयिता महर्षि वेदव्यास र भगवान श्रीकृष्ण स्वयं महाभारतको कथामा पात्रबनि घटनाक्रमसँग कसरी जोडिनुहुन्छ र उहाँले मानव समाजलाई कस्तो दिशा, दर्शन र मार्गदर्शन दिनुभएको छ भन्ने विषयलाई पनि ग्रन्थमा समेटिएको उहाँले बताउनुभयो ।
यस महाग्रन्थको अर्को विशेष पक्ष भनेको महाभारतका महिला पात्रहरूको जीवन, त्याग, पीडा, शक्ति, धैर्य, निडरता र योगदानलाई विशेष महत्त्वका साथ प्रस्तुत गरेको हुँ लेखिका झाले बताउनुभयो । माता गङ्गा, सत्यवती, कुन्ती, गान्धारी, द्रौपदी लगायतका नारी पात्रहरूले महाभारतको कथालाई कसरी प्रभाव पारे, उनीहरूको संघर्ष, निर्णय, ममता, त्याग र आत्मबलले समाजलाई के सन्देश दिन्छ भन्ने विषयलाई गहन रूपमा उजागर गरेको छु झाले भन्नुभयो । साथै विभिन्न देवी देवता, यक्ष, महर्षि, ऋषि, मुनिको कथा लेखिएको छ ।
त्यसैगरी पाण्डवहरूको आदर्श, संघर्षपूर्ण जीवन, श्राप, धर्मप्रतिको निष्ठा, वनवास, युद्ध, विजय र अन्ततः मृत्युदेखि स्वर्गारोहणसम्मको आध्यात्मिक यात्रा लाई पनि समेटिएको छ । अर्कोतर्फ कौरवहरूको राज्यप्रतिको मोह, सत्ता प्राप्तिको आकांक्षा, षड्यन्त्र, अहंकार र अधर्मले निम्त्याएको विनाशलाई जीवनोपयोगी सन्देशका रूपमा प्रस्तुत गरिएको झाले जानकारी गराउनुभयो ।
झाले यस अघि मैथिली भाषामा ‘अर्चनाकृत रामायण’ रचना गरेपछि पाठक तथा शुभेच्छुकबाट प्राप्त माया, हौसला र प्रेरणाले महाभारत लेखनतर्फ अघि बढेको बताउनुभयो ।
झाका अनुसार साहित्य, पत्रकारिता, संस्कृति तथा समाजसेवामा योगदानका लागि मन्त्रीहरू द्वारा ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित हुनुका साथै ‘सीता’ उपाधि समेत प्राप्त गरेको छु । त्यसैगरी विभिन्न राष्ट्रिय तथा सामाजिक संस्थाहरूबाट पनि सम्मानित हुँदै आएभएको छु ।


