वीरगन्ज — संविधान दिवसको अवसरमा प्याब्सन पर्साले आयोजना गरेको ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत रौनियार प्रथम भएकी छन्। २८ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा रीतले १६२ अंक प्राप्त गरिन्।
विद्यासदनकी अफ्रिना खातुन १५८ अंकसहित द्वितीय र द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंकसहित तृतीय भइन्। मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंकसहित चौथो र डीएभी आरबी केडिया स्कुलकी सान्वी गुप्ता १५४ अंकसहित पाँचौं भइन्।
असोज ३ गते परवानीपुरस्थित डीएभी स्कुलमा आयोजित प्रतियोगितामा ठाकुराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमराका नेपाली शिक्षक हरिप्रसाद प्याकुरेल निर्णायक थिए। दुवै निर्णायकले दिएको १००–१०० अंकका आधारमा नतिजा निर्धारण गरिएको थियो।
प्रतियोगिताको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले गरेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईं प्रमुख अतिथि थिए। कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुरलगायत सहभागी थिए।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञान अभिवृद्धिमा सहयोग पुर्याएको छ।
बाढीपीडितलाई सहयोग गर्ने विद्यालय सम्मानित
कार्यक्रममा रसुवाका बाढीपीडित परिवारको राहत तथा उद्धारका लागि सहयोग गर्ने प्याब्सनमा आबद्ध ५३ विद्यालयलाई सम्मान गरिएको थियो। केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा ती विद्यालयले सहयोग गरेका थिए।
सहयोगमा संलग्न विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीलाई सम्मानपत्र प्रदान गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति योगदानको कदर गरिएको प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए।


