वीरगञ्ज-
वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा शुक्रबार महानगरको सभाहलमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।
दुई ब्याच (भदौ २३–२४ र २५–२६ गते) मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित सो गोष्ठीमा महानगरका ३४ स्वास्थ्य चौकी प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधि गरी कुल ४४ जनाको सहभागिता रहेको थियो। विगत १० वर्षपछि महानगरका कार्यवाहक मेयरसहित सम्पूर्ण सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा यो समीक्षा गोष्ठी आयोजना गरिएको हो।
कार्य मूल्यांकन तथा प्राप्त प्रगतिका आधारमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र (छपकैया–१) र आधारभूत स्वास्थ्य केन्द्र–२ लाई सम्मान गरिएको छ।
विगत तीन वर्षको नतिजासँग तुलना गर्दा यस वर्षको कार्य प्रगतिमा केही आंशिक कमी देखिएको छ। केन्द्रबाट प्राप्त विवरण र स्थलगत रूपमा गरिएको वास्तविक कामबीच मेल नखाँदा प्रगति विवरणमा यस्तो कमी आएको महाशाखाले जनाएको छ।
कार्यक्रमका अध्यक्ष एवं कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले केन्द्रीय विवरण र स्थलगत अवस्थाबीचको अन्तरलाई सुधार्दै आगामी दिनमा सेवाको गुणस्तर बढाउन सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो।
त्यस्तै, कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गरिएको स्पष्ट पार्नुभयो। उहाँले काम गर्ने क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटिहरू सुधार्न र केन्द्रको विवरण तथा फिल्डको अवस्थाबीचको दूरी हटाउन आगामी दिनमा स्थलगत अनुगमनलाई अझ तीव्र बनाइने बताउनुभयो।
जहिर आलमले सञ्चालन गर्नुभएको सो गोष्ठीलाई अब हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।


