बारा — समाजमा केही गर्ने उद्देश्यले २८ वर्षअघि स्थापना भएको जनजागरण युवा क्लबले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, महिला उद्यमशीलता र गरिबी न्यूनीकरणका क्षेत्रमा काम गर्दै आफ्नो यात्रा अघि बढाएको छ। संस्थाको २८औँ वार्षिक साधारणसभाका सहभागीहरूले लामो समयको प्रयासपछि संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानप्रति खुसी व्यक्त गरेका छन्।
कलैयामा सम्पन्न साधारणसभामा संस्थाका संरक्षक भैयाराम यादवले स्थापनाकालदेखि संस्थालाई अघि बढाउन गरिएको संघर्ष र योगदान अहिले उपलब्धिमा परिणत भएको बताए। उनका अनुसार संस्थाले स्थापनाको २८ वर्षमा विभिन्न आरोह–अवरोह पार गर्दै सामाजिक क्षेत्रमा आफ्नो भूमिका स्थापित गरेको छ।
‘२८ वर्षअघि संस्थाका लागि गरेको दुःख आज सफल भएको देख्दा खुसी लागेको छ,’ यादवले भने, ‘हामीले आफ्नो जीवनको अमूल्य समय संस्थालाई दियौँ। अहिले संस्थाले रोजगारी सिर्जना गर्नुका साथै शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता र गरिबी न्यूनीकरणका क्षेत्रमा काम गरेको देख्दा सन्तुष्टि लागेको छ।’
संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा भएको साधारणसभामा कोषाध्यक्ष सियाराम यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। पारदर्शी कार्यशैलीकै कारण संस्था २८ वर्षसम्म निरन्तर अघि बढ्न सफल भएको उनको भनाइ थियो।
सभामा संस्थाले पहिलो आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधिको विवरण कार्यकारी निर्देशक डा। श्रीनिवास बैठाले प्रस्तुत गरेका थिए। उनले संस्थाका कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएका थिए।
साधारणसभामा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी, दातृ निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन्।


