बारा, बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ईभी गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लामा घर भएका मोहम्मद गुफानका छोरा ७ वर्षीय मोहम्मद ईशान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार दिउँसो वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले बाटो काट्दै गरेका ईशानलाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको थियो।त्यहीँ उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
प्रहरीले ठक्कर दिने ईभी गाडी र त्यसका चालक वीरगन्ज महानगरपालिका–३२ मा बस्ने २६ वर्षीय लक्ष्मण पासवानलाई नियन्त्रणमा लिएको छ।
चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए ।


