काठमाडौँ — बुधबार बिहान भोटेकोशीमा आएको बाढीले बस्ती नै बगाउँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगेका छन् । टिमुरेमा माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, इन्भेस्टमेन्ट मेगा लगायत बैंकका शाखा कार्यालय रहेका थिए ।
बस्ती नै बगेपछि बैंकका सबै शाखामा क्षति पुगेको र सञ्चार अवरुद्ध भएका कारण कुनै पनि कर्मचारीसँग सम्पर्क हुन नसकेको बैंकर्स संघले जनाएको छ ।
यस सम्बन्धमा बुधबार बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो । बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।
‘उद्धारका लागि नेपाली सेना, प्रहरीलगायत विभिन्न निकायहरुमा अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘अहिले कुनै पनि कर्मचारी सम्पर्कमा छैनन । टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण संकलन गर्न कठिन भएको छ ।’


