महोत्तरी — लागु औषध (खैरो हेरोइन) मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०४।२२ गते जिल्ला सर्लाही, ईश्वरपुर नगरपालिका–५ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ का ४५ वर्षीय मित्र कुमार गौतम र सोही स्थानका ४० वर्षीय राम उदगार महत्तो रहेका छन्।
प्रहरीका अनुसार उनीहरू प्रतिवादी महमद गफार अन्सारीसमेत संलग्न रहेको ५१.९२० ग्राम खैरो हेरोइनसम्बन्धी लागु औषध मुद्दामा फरार थिए।
उनीहरूविरुद्ध सम्मानित महोत्तरी जिल्ला अदालतबाट क्रमशः मिति २०८२।११।०४ गते र २०८२।११।२९ गते पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा सम्मानित महोत्तरी जिल्ला अदालतमा बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय केशरजंगमा बुझाइएको प्रहरीले जनाएको छ।


