सिरहा — सिरहामा ९१ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। गाँजा बोकेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो भने चार जना फरार भएका छन्।
सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा साउन २३ गते राति करिब २:३० बजे इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त गस्ती टोलीले पाँच जनालाई गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार गस्ती टोलीलाई देखेपछि उनीहरूले प्लास्टिकका पाँच बोरा गाँजा फालेर भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह छन्। प्रहरीले बरामद गरेको गाँजाको तौल ९१ किलो २५ ग्राम रहेको जनाएको छ।
फरार हुनेमा भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय कलेन्द्र यादव र सोही स्थानका ४५ वर्षीय ब्रह्म यादव रहेका छन्। फरार अन्य दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


