पर्सा – पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरबाट हवाई इन्धन चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा बिहीबार साँझ करिब ५ः१० बजे सौदागर आयल सेन्टरमा छापा मारिएको थियो।
करिब तीन घण्टासम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा हवाई इन्धन निकालिरहेको अवस्थामा सात जनालाई रंगेहात पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ट्याङ्करमा जडान गरिएको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचालेर इन्धन चोरी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनामा प्रयोग भएको ना.७ ख १५३९ नम्बरको ट्याङ्करसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगञ्ज महानगरपालिका–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखा हेर्ने वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी, पम्पका क्यासियर वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक हेटौडा उपमहानगरपालिका–१० का ४६ वर्षीय केशर राम सुनार, सोही ट्याङ्करका सहचालक हेटौडा–११ का २० वर्षीय सन्देश राना मगर, ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक हेटौडा–१४ का ५० वर्षीय मन्द सिंह लामा तथा सहचालक हेटौडा–१४ का २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। यसअघि पनि उनीहरू हवाई इन्धन चोरीमा संलग्न थिए वा थिएनन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


