पर्सा — ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा जगरनाथपुर गाउँपालिकामा समावेशी शिक्षा तथा ‘सबैका लागि शिक्षा’ सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षता थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. ४ का अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, वडा नं. ५ का अध्यक्ष विहारी महतो नुनिया, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह कानु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि, बालबालिका, Girls and Inclusive Education Network (GIEN) का प्रतिनिधि, SODCC पर्साका अध्यक्ष इब्राहिम देवान, कार्यकारी निर्देशक रुपक पाण्डे, कार्यक्रम व्यवस्थापक विशाल कुमार गुप्ता, एकाउन्टेबिलिटी ल्याब नेपालका मधेश प्रदेश प्रतिनिधि अम्रेश यादव तथा जिल्ला अधिकृत दिपेश पटेललगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन विशाल कुमार गुप्ताले गरेका थिए।
अभिमुखीकरणमा समावेशी शिक्षा तथा ‘सबैका लागि शिक्षा’ को अवधारणा, यसको महत्व, स्थानीय तहको भूमिका तथा विद्यालयबाहिर रहेका र जोखिममा परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उपायबारे जानकारी गराइएको थियो। सहभागीबीच स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको समन्वय तथा साझा जिम्मेवारीका विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा ACCESS/FSTP परियोजनाका उद्देश्य, Girls and Inclusive Education Network (GIEN) तथा Community Response Mechanism (CRM) को प्रभावकारी परिचालन, विद्यालयमा Gender Equality, Disability and Social Inclusion (GEDSI) र Diversity, Inclusion and Dignity (DID) का सिद्धान्त कार्यान्वयन, समावेशी विद्यालय सुधार योजना (Inclusive SIP) निर्माण तथा सुरक्षित, बालमैत्री र समावेशी विद्यालय वातावरण विकासका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमपछि उपाध्यक्ष सिंहको अध्यक्षतामा पालिका स्तरीय GIEN को पहिलो बैठक सम्पन्न भएको थियो। बैठकमा सञ्जालको वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकको सहजीकरण एकाउन्टेबिलिटी ल्याब नेपालका अम्रेश यादव र जिल्ला अधिकृत दिपेश पटेलले गरेका थिए।
सहभागीहरूले समावेशी, समान र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, बाल क्लब र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। विद्यालयबाहिर रहेका तथा जोखिममा परेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याई निरन्तर सिकाइ सुनिश्चित गर्न स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।


