विराटनगर, — मोरङ प्रहरीले जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर तथा सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पीडित महिलालाई नशालु पदार्थ सेवन गराई मोरङको लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा लगिएको र ज्यान मार्ने धम्कीसमेत दिई डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनामा अन्य दुई जनाको समेत मिलेमतो रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ। मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।



