पर्सा — वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनापछि चर्किएको चिकित्सक आन्दोलनका बीच पर्साका प्रहरी प्रमुख ९एसपी० सुदीप पाठकको सरुवा गरिएको छ।
चिकित्सक वार्ता टोलीले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र प्रहरी प्रमुखको सरुवालाई प्रमुख सर्त बनाएपछि गृह मन्त्रालयले पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरेको हो।
उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
यसअघि पाल्पाको प्रहरी प्रमुख रहेका भट्टराईलाई ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनका लागि काठमाडौं ल्याइएको थियो। उनलाई पर्सा पठाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा कार्यरत एसपी दानबहादुर थापालाई खटाइएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनापछि चिकित्सकहरूले दोषीमाथि कारबाही, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति तथा सम्बन्धित अधिकारीहरूको सरुवाको माग गर्दै आन्दोलन गरेका थिए। सोही क्रममा गृह प्रशासनले प्रहरी नेतृत्वमा फेरबदल गरेको हो।



